‘भरत ताल’ खनाएका मेयर विरुद्ध अख्तियारले हाल्यो साढे ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– ‘भरत ताल’ बनाएर चर्चा कमाएका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले थापा विरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै सोही वमोजिमको विगो राखेर मुद्दा दायर गरेको हो। माओवादीबाट निर्वाचित भएका थापा विरुद्ध उजुरी परेपछि उनले अघिल्लो कार्यकाल मेयर हुँदा कमााएको सम्पत्ति छानबिन गरेको थियो।

थापाले सेवा प्रवेश गर्नुअघिको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण÷कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसा मात्र वैधानिक रहेको आयोगको ठहर छ।

उनले यो अवधिमा गरेको खर्च, लगानी र बैंक मौज्दात १३ करोड २० लाख ३३९१ रुपैयाँ १४ पैसा देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३१८९ रुपैयाँ ६६ पैसा बराबरको सम्पत्ति ऋणात्मक देखिएको जनाईएको छ।

थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा छ।

अख्तियारले रेश्मीकुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारिका राउतलाई पनि प्रतिवादी बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट