राजा फर्काउन हिडेका ठाकुरप्रसाद ३ श्रीमती र ९ सन्तानलाई विचल्लीमा पारेर आफैं अस्ताए

राजविराज– राजा फर्काउने योजनामा ७ दिनअघि काठमाण्डौं पुगेका वर्दियाका करिव ७० वर्षीय ठाकुरप्रसाद डाँगी आफैं अस्ताएका छन्। प्रहरीसँगको घम्साघम्सीमा सडकमै ढलेका डाँगीको ‘ब्रेन ह्यामरेज’ भएर ज्यान गएको जनाईएको छ।

विभिन्न ४० बुँदे माग राखेर बृहत् प्रदर्शन आयोजना गरेको राप्रपाले २७ चैतमा देशभरबाट नेता÷कार्यकर्ता काठमाडौँ उतारेको थियो। बर्दियाका नेता डाँगी पनि आफनो जिल्लाका नेता÷कार्यकर्ताको नेतृत्व गर्दै काठमाडौँ पुगे।

भद्रकाली मन्दिर परिसरमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी पर्यो। सोही क्रममा डाँगी घाइते भए। उनलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगियो। त्यहाँ उपचार नहुने भएपछि भोलीपल्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो।

झण्डै ६ दिन उपचारमा रहेका डाँगीले सोमबार (३ वैशाख) बिहानै संसारै छोडे। जानकारी अनुसार उनी श्वासप्रश्वास र निमोनियाँका विरामी थिए। प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारण उनको स्वास्थ्यमा समस्या बढ्यो। त्यसपछि उनी सडकमै ढलेका थिए। त्यसबेला उनको टाउकोमा पनि चोट लाग्यो।

डाँगीको निधनले उनको परिवार मात्र होईन, सिङ्गो पार्टी शोकमा छ। डाँगीको शव सोमबार दिनभर पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिएको थियो। डाँगीको अन्त्येष्टि आज हुने बर्दियाकी नेतृ एवम् सांसद गिता बस्नेतले बताइन।

२००९ सालमा जन्मिएका डाँगीका ३ श्रीमती तथा ५ छोरी र ४ छोरा गरी ९ सन्तान छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट