टी–२० वरियतामा दीपेन्द्रसिंह ऐरीको फड्को, अलराउन्डरतर्फ ११औँ स्थानमा
काठमाडौं– नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० वरियतामा नयाँ रेकर्ड बनाएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ऐरी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका हुन्। यस अघि उनी आईसीसी टि–२० वरियतामा १४औं नम्वरमा थिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र आफनो वरियता सुधार गर्दै १४औँ बाट ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्।
ऐरीले हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उक्त प्रतियोगताअन्तर्गत ऐरीले कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेख ३६ स्थानबाट एकै पटक ७५औँ स्थानमा उक्लिएका छन्। कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन्।