१ लाख घुससहित पक्राउ परेकी पोखरा महानगरकी सव इन्जिनियर तारेखमा छुटिन
काठमाडौं– सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेकी पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया साधारण तारेखमा छुटेकी छिन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले रोकायालाई तारेखमा राखी अनुसन्धान गर्न आदेश दिएको हो।
पोखरा महानगरपालिकाको कार्यालयमा कार्यरत सब–इन्जिनियर रोकायालाई २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको थियो। उनीसँगै गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर पनि पक्राउ परेका थिए।
अख्तियारले उनीहरूको साथबाट १ लाख ५० हजार रूपैयाँ नगद पनि बरामद गरेको थियो। यो प्रकरण अनुशन्धानका क्रममा महानगरका अर्का इन्जिनियर शिवराज बराल पनि पक्राउ परेका छन्।
अख्तियारले थप १५ दिन हिरासतमा राख्नका लागि दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीबार रोकायालाई विशेष अदालतमा प्रस्तुत गरेको थियो। रोकायाले २६ महिनाकी शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले तारेखमा रहन पाउन माग गरेकी थिइन्।
छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी उनलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिव नदेखिएकोले तारेखमा छाड्न आदेश दिएको विशेष अदालतले जनाएको छ। कुँवर र बराललाई भने थुनामै राख्न अदालतले भनेको छ।