सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दीपेशलाई धरौटीमा रिहा गर्न आदेश

बुटवल– सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश सहकारी ठगि प्रकरणमा गत २ चैतमा ललितपुरको झम्सिखेलबाट पक्राउ परेका थिए। दीपेशसँगै अन्य ५ जनालाई पनि धरौटीमा रिहा गर्न अदालतको आदेश छ। अदालतले नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गरेको छ।

अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ। अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ। कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर जिल्ला अदालत रुपन्देहीले बयान लिनेछ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए। वचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *