संकल्प यात्रामा ओली बास बसेको होटलको पैसा एमालेले अझै तिरेन
भोजपुर– नेकपा एमालेले १४ मंसिर ०८०देखि १ पुससम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओली बास वसेको होटलको पैसा हालसम्म भुक्तानी नगरेको खुलासा भएको छ।
यात्राको चौधौं दिन (२७ मंसिर) एमाले अध्यक्ष ओली पार्टीका अन्य शीर्ष नेताहरुसहित करिब डेढ सय जनाको टोली लिएर भोजपुर पुगेका थिए। त्यहाँ उनीहरुको बासस्थानको ब्यवस्था भोजपुरकै सबैभन्दा सुविधासम्पन्न होटल भिन्तुनामा गरिएको थियो।
२६ मंसिरमै उक्त होटलका सबै १८ वटा कोठा एमालेले बुक गरिसकेको थियो। एमाले जिल्ला अध्यक्ष शरणकुमार राईको नाममा होटल बुक गरिएको थियो। उक्त होटलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र पत्नी राधिका, सविचालयका सदस्य, सुरक्षाकर्मी र अन्य केही नेता पनि बसेका थिए।
ओलीलाई उक्त होटलमा रहेका १८ मध्ये पनि सवैभन्दा सुविधायुक्त कोठा (३०४ नम्बर) मा राखियो। तीन दिनका लागि बुक गरिएको उक्त होटलको खर्च एमाले जिल्ला कमिटीले व्यहोर्ने भनिएको थियो। होटल बुक गर्दा समेत एक साताभित्र सवै रकम भुक्तानी गर्ने प्रतिवद्धता एमाले नेताले गरेका थिए।
तर, हालसम्म पनि उक्त होटलको पैसा भुक्तानी नभएको जनाईएको छ। होटल सञ्चालक एवम् भोजपुरका व्यवसायी राजकुमार श्रेष्ठका अनुसार एमालेका नाममा त्यसअघिको उधारो पनि बाँकी छ। बाँकी नतिरेकै अवस्थामा अध्यक्ष ओलीका लागि कोठा उपलब्ध गराइएको थियो।
होटल भिन्तुनामा ओलीका लागि बुक गरिएको ३ दिन तथा त्यसअघिको समेत गरी एमालेले तिर्न बाँकी कुल १ लाख ६७ हजार ५२५ रुपैयाँ छ। पार्टीको नाममा विगत २ वर्षदेखि बाँकी बक्यौता रहँदै आएको होटल संचालक श्रेष्ठले वताए।
ओलीपछि गत फागुन १८ गते एमाले उपमहासचिव रघुवीर महासेठ र नेता कृपाशुर शेर्पासहितको टोली पनि सोही होटलमा वसेको थिए। त्यसबेलाको २५ हजार ९९० रुपैयाँ पनि एमालेले तिरेको छैन।
एमालेका जिल्ला स्तरिय एक नेताका अनुसार उक्त अभियानका लागि भन्दै पार्टीको केन्द्रीय कमिटीले भोजपुरमा २ लाख रुपैयाँ पठाएको थियो। तर, त्यो पैसा कसले र कसरी खर्च गर्यो भन्ने हिसाव किताव छैन।
एमालेका जिल्ला अध्यक्ष शरणकुमार राईसहितका नेताहरुले भने वाँकी तिर्न तयार रहेको बताउँदै आएका छन्।