पत्निको हत्या गरी घरभित्रै शव गाडेर भारत छिरेका सुदीप र उनका दाजु ६ महिनापछि पक्राउ

जनकपुर– धनुषामा ६ महिनाअघि पत्निको हत्या गरी घरभित्रै शव गाडेर दाजुसहित रोजगारीका लागि भारत पुगेका एक ब्यक्ति र उनका दाजुलाई प्रहरीले पक्राउ गरेको छ।

सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र उनका दाजु ६० वर्षीय उदितलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि सुदिपकी पत्नि ४५ वर्षीया रेखादेवीको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार गत १० कात्तिकमा रेखादेवी र उनका पति सुदीपको विवाद भएको थियो। आक्रोशित भएका सुदीपले टाउकोमा बञ्चरो प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए। उनले घटनाबारे दाजु उदितलाई पनि बताए। त्यसपछि उनीहरु रोजगारीका लागि भन्दै भारततिर लागे।

३० कात्तिकमा घर फर्किएका उनीहरुले घरभित्र गाडेको रेखादेवीको शव खोतलेर फेरी बाहिर निकाले। अनि बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा लगेर फाले।

यता, रेखादेवीका छोराले आमा बेपत्ता भएको भन्दै खबर गरेपछि प्रहरी उनको खोजतलासमा लाग्यो। अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो पनि बरामद गरेको छ। भने फालिएको ठाउँबाट शवको टुक्रा पनि फेला पारेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीका डीएसपी रञ्जन अवाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट