कतारका राजालाई उपहार दिने भनिएका रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन्

काठमाडौँ– दुई दिने राजकिय भ्रमणमा नेपाल आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका २ वटा हात्ती नपठाईने भएको छ। कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका हात्ती तत्कालका लागि कतार नपठाईने भएको हो।
नेपालले कतारका राजालाई उपहार स्वरूप रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती दिने तयारी गरेको थियो। नेपालले राजासँग पठाउनका लागि दुई हात्ती तयारी अवस्थामा राखेपनि कतारले नै कानुनी तथा प्राविधिक कुरा नमिलाएकाले तत्काल उपहार दिने योजना रोकिएको वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वताए।
आज सोल्टी होटलमा भएको दुई पक्षीय वार्तामा हात्ती उपहारको एजेण्डा पनि नबनेको उनको भनाई छ। हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ।
नेपाल पनि सो महासन्धिको पक्ष राष्ट्र हो। कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन। साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल नदेखिएको मन्त्रालयले जनाएको छ।