‘नायक रोहित पौडेल’को सनसनीपूर्ण प्रदर्शनले यसरी सम्भव भयो वेस्ट इन्डिजको पराजय

काठमाडौं– टी–२० क्रिकेटमा ‘किङ’ को रुपमा छाप बनाएको वेस्ट इन्डिजको ‘ए’ टीमलाई नेपालले शनिवार हारको स्वाद चखायो। टी–२० विश्वकपअघि ५ खेलको श्रृंखलाका लागि नेपाल आएको वेस्ट इन्डिज ‘ए’माथि नेपालले शानदार ४ विकेटको जीत हासिल गरेको हो।

असम्भव जस्तो देखिए पनि २ बल बाँकी छँदै नेपालले अन्ततः दबदबा र सनसनी मच्चाउँदै आएको टेस्ट टोलीलाई हराएर जीत निकाल्न सफल भयो। विश्वकप, आईपीएलसहितका विश्वका उत्कृष्ट कप, लिग, टेस्ट र वान डेका महत्वपूर्ण प्रतियोगिता र खेल खेलिसकेको टीमलाई पराजित गरेपछि अहिले नेपालको प्रशंशा भईरहेको छ।

त्यसमाथि पनि कप्तान रोहित पौडेलले शनिवारको खेलमा ‘अनिल कपुरको हिन्दी फिल्म नायक’को झल्को दिए। सनसनीपूर्ण शतक प्रहार गरेका उनी एकल नायकको रुपमा प्रश्तुत हुँदा नेपालले जीत हाँसिल गर्यो।

टस जितेर पहिले फिल्डिङ रोज्दै रोहितले गरेको अलराउन्ड प्रदर्शनमा प्रशंशायोग्य रह्यो। रोहितले ५४ बलमा ११२ रनको महत्वपूर्ण इनिङ्स खेल्दा नेपालको जीतको आधार बनेको हो। उनी १८.५ ओभरमा आउट भए। त्यसवेला नेपालले १९२ रन जोड्दा ६ विकेट गुमाएको थियो। रोहितलगत्तै आएका प्रतिश जीसीले १९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गरेपछि नेपाल जीतसम्म पुग्ने स्थिति देखियो। किनकि ४ विकेट पनि बाँकी र ६ बलमा ९ रन बनाउन कठिन थिएन।

२० ओभरको पहिलो बलमा गुल्सन झाले १ रन लिए। दोस्रो बलमा प्रतिशतले पनि १ रन लिएर गुल्सनलाई स्ट्राइक दिए। त्यसपछि तेस्रो र चौथो बलमा गुल्सनले लगातार २ चौका हानेपछि नेपालले बलियो टोलीविरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो । १६, १७ र १९ औं ओभर प्रत्येकमा १५ माथिको रन बनाएपछि नेपालले असम्भव देखिँदै गएको खेललाई आफ्नो नियन्त्रणमा ल्याउँदै जीतसम्म पुगेको हो। १६ औ ओभरमा १७, १७ औं ओभरमा १९ र १९ औं ओभरमा १५ रन बनेपछि नेपाल जीतसम्म पुग्यो।

ब्याटिङमा मात्रै होइन नेपालको लागि बलिङ र फिल्डिङमा समेत रोहितले उत्कृष्ट भूमिका निभाए। २६ बलमा ४७ रन बनाएका अलिक अथान्जलाई रोहितले नै ललित राजवंशीबाट क्याचआउट गराए भने ५ बलमा १३ रन बनाएका आन्द्रे फ्लेचरलाई रोहित र अनिल साह मिलेर रनआउट गरे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए । यस्तै कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र र अविनाश बोहराले समान १–१ विकेट लिए। अन्तिम ओभरमा दीपेन्द्रले ४ रनमात्रै दिएर १ विकेट लिएपछि वेस्ट इन्डिज ठूलो स्कोर बनाउनबाट चुकेको थियो । अविनाशले ४ ओभरमा २८ रन दिएर एक विकेट लिएर किफायती बलिङ गरे ।

पावर प्लेको ६ ओभरमा वेस्ट इन्डिज ७७–२ को बलियो स्थितिमा थियो । तर त्यसपछि भने नेपाली बलर विस्तारै खेलमा फर्किन पुगे । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सबैभन्दा बढी ७४ रन बनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट