डिजे नियन्त्रण गर्ने निर्देशन मन्त्रीकै कार्यक्रममा उलंघन, विभागिय मन्त्रीको अपमान गरेको भन्दै सीडीओको आलोचना

राजविराज– ध्वनी प्रदुशण नियन्त्रणका लागि ‘डिजे बाजा’ नियन्त्रण गर्न मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले जारी गरेको निर्देशन उनकै कार्यक्रममा उलंघन भएको छ।
गत २० चैतमा जनकपुरमा आयोजित प्रदेश सुरक्षा समन्वय समितीको बैठकमा मन्त्री लेखिले सुरक्षा प्रमुखहरुलाई डिजे बाजा नियन्त्रण गर्न निर्देशन दिएका थिए। ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सिर्जना गरिरहेकोले त्यस्ता बाजा नियन्त्रण गर्नुपर्ने उनको निर्देशन थियो।
प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका मन्त्री लेखी आईतबार आफै सहभागि भएको कार्यक्रममा भने डिजे बाजाको प्रयोग गरिएको छ। सप्तरीको तिरहुत गाउँपालिका ५, लोहजरामा आयोजित नेपाल पत्रकार महासंघ, सप्तरीको ११ औं अधिबेशन एवम् साधारण सभामा डिजे बाजाको प्रयोग गरिएको थियो।
उनले त्यही बाजा प्रयोग गरेर महासंघको उद्घाटन शत्रलाई सम्वोधन पनि गरे। कार्यक्रम औपचारिक रुपमा सुरु हुनुअघि डिजे अपरेटरले विवाहकै शैलीमा गानाबजाना गरिरहेका थिए। तर, कतिपय पत्रकारले गानावजाना भने रोकेका थिए।
कार्यक्रममा सप्तरीका सीडीओ किरण थापादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग गरी तीन वटै सुरक्षा निकायका प्रमुख पनि सहभागि थिए। तर, उनीहरु सीडीओ थापाले आफनो शुभकामना मन्तब्य राखेपछि जर्याकजुरुक उठेर हिडे।
प्रदेशको विभागिय मन्त्री मञ्चमा रहेको कुरालाई समेत उनीहरुले हेक्का राखेन। उनीहरुको यो ब्यवहारप्रति कार्यक्रममा चर्को आलोचना भएको थियो। प्रशासकले प्रदेश संरचनालाई अहिलेसम्म पनि स्विकार गर्न नसकेको भन्दै अतिथीहरुले मञ्चबाट आलोचना गरे। विभागिय मन्त्रीको पनि सम्मान नगरेको भन्दै सीडीओ र एसपीहरुको आलोचना भयो। खास गरी नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्णले यस विषयमा सीडीओको आलोचना गरेका थिए।