न्यायाधीशसँग सेटिङ मिलाउन कैदी/वन्दीबाट ३० लाख असुलेका ओखलढुङ्गाका कृष्ण पक्राउ
काठमाण्डौं– जेलमा रहेका कैदी/वन्दीका आफन्तलाई ‘न्यायाधीशसँग मेरो सेटिङ छ, मुद्दा जिताइएर कारागारमुक्त गराइदिन्छु’ ३० लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
राजनीतिक दलका कतिपय नेता र कानुन ब्यवसायीसम्मले अदालत सेटिङमा चल्ने र पैसा लेनदेनमा मुद्दा फैसला हुने गरेको भाषणवाजी गरिरहेका यो घट्ना वाहिर आएको हो। पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की छन्।
प्रहरीले उनलाई सोल्टीमोडबाट पक्राउ गरेको हो। उनलाई काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गराएर अनुशन्धानका लागि ५ दिनको म्याद लिईएको प्रहरीले परिसर काठमाडौंले जनाएको छ।
लमजुङका बिरबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको आरोप लागेको छ। गुरुङ भन्सार छलीको मुद्दामा कारागारमा छन्। यसैगरी, जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि उनले २३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।