सहकारीले बचतकर्ताको पैसा हिनामिना गरेपछि कर्मचारीले गरे आत्महत्या

चितवन– तत्कालीन भरतपुर नगरपालिका–१२ (हाल भरतपुर महानगरपालिका–३) मा कार्यालय रहने गरी ०६६ सालमा खुलेको ‘सनराइज बचत तथा ऋण सहकारी संस्था’ले वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि तनावमा आएका एक कर्मचारीले आत्महत्या गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका, बरौजीका का २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका हुन। महतोको शव उनकै कोठामा फेला परेको प्रहरीले जनाएको छ। सुसाइट नोट फेला नपरेपनि उनले आत्महत्या नै गरेको प्रारम्भिक निस्कर्षमा प्रहरी छ। यद्यपी, उनले प्रयोग गर्ने दुवै मोबाइल प्रहरीले नियन्त्रणमा लिएर प्राविधिक परिक्षण र अन्य कोषणबाट पनि अनुशन्धान गरिरहेको छ।

बरौजी निवासी गौरीराम महतोका दुईमध्ये निर्मल कान्छा हुन। गौरी पटिहानी क्षेत्रमा क्याटरिङको काम गर्छन। चिनजानका मान्छेले ‘सहकारीमा राम्रो कमाइ हुन्छ’ भनेपछि निर्मल भने सहकारीतर्फ लागेका थिए। भरतपुर–३, लायन्स चोकमा कार्यालय राखेर उनीहरुले ०७४ देखि सहकारी सञ्चालन गरे। चनौली र विकास चोकमा पनि सेवा केन्द्र खुल्यो।

गौरीको जनसम्पर्कका कारण निर्मलले छोटो समयमै राम्रो प्रगति गरे। बुबाकै सम्वन्धका कारण निकै वचतकर्तालाई सहकारीमा जोडे। जसले गर्दा ०७८ सालमा उनलाई सहकारीले उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान पनि गरेको थियो। तर, भदौ ०७९ पछि सहकारीले बचतकर्तालाई निक्षेप फिर्ता दिन नसक्ने अवस्थाको सुरुवात भयो। बचतकर्ताहरू आन्दोलित हुन थाले। ७ कात्तिकदेखि सहकारीका सबै कार्यालय बन्द भए।

त्यसपछि आफनो कारणले वुबाको वदनाम भएको भन्दै निर्मल चिन्तित थिए। खासमा नवलपुरको कावासोतीमा रहेको छिपछिपे सहकारी र बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था खोलेकै समुहले सनराइज सहकारी पनि सञ्चालन गरेको थियो। तीन वटै सकारीमा योगेन्द्र पाण्डे, नरेन्द्र रिजाल र सञ्जीव महतो लगायत जोडिएका छन्।

नमस्ते बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिकतर्फकी संघीय सांसद गीता बस्नेत सञ्चालक अहिले फरार छिन्। अध्यक्ष रिमाल, उपाध्यक्ष सन्तोषी केसी (बर्दियाको गुलरिया–२), सचिव योगेन्द्र पाण्डे (बर्दियाको गुलरिया–२) र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली (बर्दियाको राजापुर) विरुद्ध पक्राउ पुर्जी भएको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे छिपछिपे सहकारी प्रकरणमा २५ चैत र २२ चैतमा पक्राउ परेका छन् भने अन्य फरार छन्।

सहकारी वन्द भएपछि निर्मल भने बुबासँगै क्याटरिङको काममा लागेका थिए। तर, उनीमार्फत सहकारीमा वचत गरेको वचतकर्ताहरु रकमबारे सोधखोज गर्दै पटकपटक घरमै आईपुग्न थालेका थिए। यसले उनलाई थप तनाव दिएको थियो। सहकारीको तनावले नै आफनो छोराको मृत्यु भएको गौरीराम बताउँछन्।

चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले भने घट्नाको अनुशन्धान भईरहेको वताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट