मलेसियामा मेसिनमा परेर एक नेपाली युवकको खुट्टा काटियो
काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगाउँका २१ वर्षीय डिलबहादुर घर्तीको काम गर्ने क्रममा मेसिनमा परेर खुट्टा काटिएको छ।
गत असोजमा मलेसिया पुगेका डिलबहादुरबाम कम्पनीमा काम गर्थे। भाइबहिनी पढाउने र बाबुआमाको सहार बन्ने भनेर हिडेका उनी शुक्रबार आफ्नै खुट्टा काटिएर वेसहारा भएका छन्।
शुक्रबार काम गरिरहेको बेला उनको दाहिने खुट्टा मेसिनमा परेर काटिएको छ। गोलीगाँठो भन्दा मुनीको काटिएर दुई टुक्रा भएको उनका आफन्तले जानकारी दिएका छन्। उनको अहिले मलेसियामै उपचार भइरहेको छ। उनी कार्यरत कम्पनीले नै खर्च ब्यहोरेर डिलबहादुरको उपचार गरिरहेको जनाईएको छ।
छोराको यो अवस्था सुनेपछि ४६ वर्षीय बुवा र ४४ वर्षीया आमा भावविह्वल छन्। डिलबहादुरका मामा दलबहादुरका अनुसार उनका १९ वर्षका भाइ र दुई बहिनीहरू छन्। दुई बहिनी ७ र ८ कक्षामा पढ्छन्।
फोटोः सामाजिक सञ्जाल।