भारतीय ब्याट्सम्यान विराट कोहलीको अर्को कीर्तिमान खोसियोः बाबर आजमले तोडे सबैभन्दा बढी अर्धसतकको किर्तिमान

काठमाडौं– टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय ब्याट्सम्यान विराट कोहलीको कीर्तिमान तोडिएको छ। पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले विराटको कीर्तिमान तोडेका हुन्।
पाकिस्तान ६ विकेटले विजयी भएको उक्त खेलसँगै पाकिस्तानले शृंखला पनि जितेको छ। तीन खेलको शृंखलामा २ खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो। आयरल्यान्डविरुद्धको तेस्रो खेलमा बाबर आजमले टोलीका लागि ७५ रनको योगदान गरे।
उनले केवल ४२ बलको सामना गरी पाँच छक्का र ६ वटा चौका पनि हिर्काएका थिए। यो खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका हुन्। कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन्। यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन्।
रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन्।