भयावह वन्दै लिङ्गको क्यान्सरः ब्राजिलमा १० वर्षमा ६,५०० जनाको लिङ्ग काटेर फालियो

सन् २०१८मा ब्रजिलका एकजना प्रौढ पुरुष जोआओ उनको लिङ्गमा मुसा जस्तो गिर्खा देखा परेपछि चिकित्सककहाँ पुगेका थिए। ‘त्यो के आयो भनेर जान्न म विभिन्न क्लिनिकमा गएँ, तर डाक्टरहरूले त्यो छाला लत्रिएका कारणले मात्र भएको हो भनेर त्यसका लागि औषधिहरू दिए’ ६३ वर्षका जोआओ भन्छन्।

औषधि प्रयोग गर्दा पनि त्यो मुसा झन्झन् बढ्न थाल्यो। त्यसले उनको वैवाहिक जीवनमा पनि नकारात्मक प्रभाव पर्न थाल्यो। ५ वर्षसम्म जोआओ (परिवर्तित नाम) ले विभिन्न विशेषज्ञ चिकित्सकलाई आफ्नो समस्या देखाए। उनीहरूले उनलाई थप औषधिहरू दिए र वायोप्सी भनिने परीक्षणहरू गर्न लगाए। उनी भन्छन्, ‘जे गर्दा पनि समस्या निको भएन।’

त्यसपछि सन् २०२३ मा उनलाई भनियो – उनको लिङ्गमा क्यान्सर भएको छ। ‘यो त्यस्तो प्रकारको क्यान्सर हो जसका बारेमा तपाईँ अरूसँग कुरा गर्न सक्नुहुन्न, अझ खराब कुरा त यसले नराम्रो ठट्टाको रूप पनि लिन सक्छ’ उनी भन्छन्।

लिङ्गको क्यान्सर एक दुर्लभ प्रकृतिको रोग हो, तर पछिल्लो समय संसारभरि यसबाट प्रभावित हुनेहरूको सङख्या र ज्यान गुमाउनेहरूको सङख्या पनि बढिरहेको देखिएको छ। जोआओको देश ब्रजिलमा गरिएको पछिल्लो अध्ययनले त्यहाँ यस्तो रोगबाट ग्रसितहरूको सङख्या उच्च देखिएको छ। त्यहाँ १००,००० पुरुषमध्ये २.१ जनामा लिङ्गको क्यान्सर रहेको थाहा भएको छ।

‘शल्यक्रिया गर्न पर्दा त्रसित’
सन् २०१२ र २०२२ को बीचमा २१,००० त्यस्ता बिरामीहरू रहेका ब्रजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसका कारण ४,००० जनाको ज्यान गएको थियो भने गत दशकमा ६,५०० जनाको लिङ्ग शल्यक्रिया गरी काटेर हटाउनु परेको थियो। औसतमा प्रत्येक दुई दिनमा एउटा त्यस्तो शल्यक्रिया भएको थियो।

ब्राजिलको सबैभन्दा गरिब राज्य मारान्हाओमा त्यस्तो रोगका सबैभन्दा धेरै बिरामी रहेको पत्ता लागेको छ। त्यहाँ एक लाख पुरुषमध्ये ६.१ जनामा लिङ्गको क्यान्सर रहेको देखिएको छ। लिङ्गको क्यान्सरको लक्षणमा त्यो लिङ्गमा एउटा सानो घाउका रूपमा देखापर्ने, त्यस्तो घाउ निको नहुने र पछि त्यहाँबाट दुर्गन्धित श्राव हुने गर्छ।

छिटै नै त्यस्तो क्यान्सर रहेको पत्ता लाग्न सकेमा शल्यक्रिया, रेडिओथेरापी र किमोथेरापी जस्ता उपचारका उपायबाट निको हुनसक्ने सम्भावना उच्च हुन्छ। तर यि लामो समयसम्म उपचार नगर्दा लिङ्गलाई पूरै वा आंशिक रूपमा काट्नुपर्ने अथवा नजिकका अन्य अण्डकोष जस्ता अङ्गहरू पनि हटाउनुपर्ने हुनसक्छ।

गत ज्यानुअरीमा शल्यक्रियामार्फत् जोआओको लिङ्गको केही अंश मात्र हटाएर उपचार गरिएको थियो र उनी भन्छन्, त्यो उनका लागि निकै नै दुःखद समय रह्यो। ‘म शल्यक्रिया गर्न एकदमै डराएको थिएँ, तर मसँग अरू विकल्प पनि त थिएन। शल्यक्रियापछिको केही हप्ता म एकदमै निराश र दुःखी रहेँ। लिङ्गको केही भाग नरहनु भनेको निकै नराम्रो अनुभव हो,’ जोआओ भन्छन्।

जो बिरामीको पूरै लिङ्ग नै काटेर हटाउनुपर्छ उनीहरूको जीवन नै परिवर्तन हुन्छ। ब्रजिलको साओ पाउलो शहरस्थित एसी कामार्गो क्यान्सर सेन्टरको यूरोलोजी विभागका टिआगो क्यामेलो मोउराओ भन्छन्, ‘लिङ्गको केही अंश मात्र हटाउँदा हुने अवस्थामा लिङ्गबाट पिसाब निस्कन सक्छ। तर सम्पूर्ण लिङ्ग नै हटाउने शल्यक्रिया गर्नुपर्दा मूत्रद्वारलाई अन्य भागमा सार्नुपर्ने हुन्छ र त्यसपछि बिरामीले बसेर पिसाब फेर्नुपर्ने हुन्छ।’

विज्ञहरूका अनुसार लिङ्गको अग्रचर्म कसिलो भएका धुमपान गर्ने लगायतका पुरुषहरूमा लिङ्गको क्यान्सरको जोखिम बढी हुन्छ। ब्रजिलिअन सोसाइटी अफ युरोलोजीका मोरिसिओ डेनेर कोरडेइरोका अनुसार गुप्ताङ्गको सरसफाइ पनि यो विषयमा अति महत्वपूर्ण हुन्छ।

‘पुरुषले लिङ्गको अग्रभाग र अग्रचर्मको राम्ररी सरसफाइ गर्दैनन् भने त्यहाँ एक प्रकारको फोहोर जम्मा हुन पुग्छ र त्यसका कारण उक्त क्षेत्रमा व्याक्टेरियाबाट हुने सङ्क्रमणको जोखिम बढ्छ’ उनी भन्छन्–‘त्यस्तो सङ्क्रमण बारम्बार हुने गर्दा त्यहाँ ट्यूमर देखापर्ने जोखिम पनि बढ्छ।’

सरसफाइका अतिरिक्त ह्यूमन पापिलोमा भाइरस एचपीचीको सङ्क्रमण पनि एउटा जोखिमको ठूलो कारक रहेको कोरडेइरो भन्छन्। एचपीभी भाइरसले कुनै कुनै अवस्थामा मुख र लिङ्गको क्यान्सर गराउन सक्छ। उनी भन्छन ‘छालामा मुसा देखापर्ने समस्यामा निकै प्रभावकारी देखिएको कारणले गर्दा एचपीभीको खोप व्यापक रूपमा मानिसहरूलाई दिनुपर्छ।’

उनको विश्वासमा एचपीभी विरूद्धको खोपका विषयमा कायम मिथ्यासूचना, त्यसको प्रभावकारितालाई लिएर विद्यमान शङ्का र खोप अभियानहरूको कमी जस्ता कारणले गर्दा उनको देश ब्रजिलमा यो खोप लगाउनेहरूको सङख्या कम छ।

तर त्यस्तो अवस्था ब्रजिलमा मात्रै सीमित छैन। पछिल्लो अनुसन्धान प्रतिवेदनका अनुसार लिङ्गको क्यान्सरका बिरामीहरूको संख्या संसारका अन्य देशहरूमा पनि बढिरहेको छ। सन् २०२२ मा जेएमआइआर पब्लिक हेल्थ एण्ड सर्भेलन्स जर्नलले ४३ विभिन्न देशबाट प्राप्त डेटाका आधारमा गरिएको अनुसन्धानको ठूलो स्तरको विश्लेषणको नतिजा प्रकाशित गरेको थियो।

त्यसमा सन् २००८ र २०१२ को बीचमा युगाण्डामा लिङ्गको क्यान्सरका बिरामी सबैभन्दा धेरै रहेका देखिएको थियो। त्यसपछि ब्रजिल र थाइल्यान्ड थिए भने सबैभन्दा थोरै कुवेतमा। ग्लोबल क्यान्सर रेजिस्ट्री नामक संस्थाको प्रक्षेपण उपकरणका अनुसार संसारका विभिन्न क्षेत्रमा देखिएका लिङ्गको क्यान्सरबाट पीडित हुनेहरूको सङख्या हालको दाँजोमा बढ्ने देखिएको छ।

उक्त संस्थाका अनुसार सन् २०५० सम्ममा संसारभरी लिङ्गको क्यान्सरका बिरामीको संख््यामा ७७% ले बृद्धि हुन सक्नेछ। यसका पछाडि खासगरी बूढो हुँदै जानेहरूको सङख्या बढ्नु नै मुख्य कारकका रूपमा लिइएको छ। किनकि अध्ययनहरूका अनुसार लिङ्गको क्यान्सरको धेरैजसो घटना उमेरको ६०को दशक पार गरेका पुरुषहरूमा देखिने गरेको छ।

कोरडेइरो भन्छन ‘लिङ्गको क्यान्सर एक प्रकारको दुर्लभ रोग हो, तर यो सजिलै रोक्न सकिने प्रकारको रोग पनि हो। पुरुषहरूले नियमित रूपमा र यौन सम्पर्क गरिसकेपछि पनि साबुन पानीले हरेक दिन लिङ्ग सफा गर्न निकै महत्वपूर्ण हुन्छ।’

उनले यौन सम्पर्कका बेला कन्डोमको प्रयोग गर्ने र लिङ्गको अग्रचर्म कसिलो रहने गरेको छ भने शल्यक्रिया गरेर त्यसलाई हटाउने जस्ता उपाय पनि सुझाएका छन्। जोआओ उनको पछिल्लो स्वास्थ्य परीक्षणका नतिजाहरूको प्रतिक्षामा छन् जुन यसै वर्ष केही पछि प्राप्त हुने उनको अपेक्षा छ।

उनी भन्छन्, ‘मलाई पूर्ण रूपमा निको हुनेछ भनेर ती रिपोर्टहरूले देखाउनेछन् भन्नेमा म विश्वस्त छु।’ क्यान्सर रिसर्च यूकेका अनुसार लिङ्गको क्यान्सर भएका तर त्यो नजिकका लिम्फ नोड्सहरूमा सरिसकेको छैन भने ९०% पुरुषहरू कम्तीमा पनि पाँच वर्ष र त्यो भन्दा बढी समयसम्म बाँच्न सक्छन्।
साभारः बीबीसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट