चन्द्रपुरका तत्कालिन मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई ४/४ वर्ष जेल सजाय

जनकपुर– ब्यक्तिगत लाभका लागि कन्ट्रक्सन कंपनीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् गरेको र राजश्व चुहावट गरेको कसुर प्रमाणित भएपछि रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालिन मेयर रामचन्द्र चौधरी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल ४/४ वर्ष जेल जाने भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मेयर चौधरी र प्रशासकीय अधिकृत सिग्देललाई जनही ४–४ वर्ष कैद गर्ने सजाय सुनाएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले वताए।
७ महिनाअघि दायर मुद्दामा विशेष अदालतले एक साताअघि उनीहरुलाई दोषी ठहर गरेको थियो। अदालतल ेसोमबार सजाय सुनाउँदै मेयर चौधरी तथा प्रशासकीय अधिकृत सिग्देलले क्रमशः ३७ लाख ३४ हजार रुपैयाँ र २८ लाख २२ हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्ने फैसला गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ कात्तिक ०८० मा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा राजस्व चुहावट गरेको अभियोग अख्तियारले लगएको थियो।
कन्स्ट्रक्सनका सञ्चालक रामविनोद बरै भ्रष्टाचारका दुई मुद्दामा दोषी पाइएका थिए। उनलाई एउटा मुद्दामा चार वर्ष कैद र मेयर चौधरीबराबर नै जरिवाना हुने भएको छ भने अर्को मुद्दामा पनि उति नै कैद र २८ लाख २२ हजार जरिवानाको सजाय सुनाइएको छ।
चौधरीले कुनै विशेष परिस्थिति परेको भन्ने आधार र कारण बिना वातावरणीय प्रभावलाई समेत बेवास्ता गरी उत्खनन्का लागि ठेकेदार कम्पनीलाई ५ वटा एस्काभेटर प्रयोग गर्न अनुमति प्रदान गरेको अदालतमा पुष्टि भएको हो। कन्सट्रक्सन कम्पनीसँग गरेको सम्झौताभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएकोसमेत भेटिएको थियो।
नगरपालिकास्थित चाँदीखोलाको पूर्वाधार उपभोग कर संकलनसम्बन्धी ठेक्का सम्झौता गर्दा कबुल अंकको ५० प्रतिशत हुन आउने १५ लाख रुपैयाँ रकम दाखिला गर्नुपर्नेमा त्यो नगरेको भेटिएको थियो।
१५ लाखको ठाउँमा ५ लाख ६५ हजार रुपैयाँ मात्र दाखिला गरी बैंक जमानतसमेत नलिइ सिग्देलले सम्झैता गरेका थिए।