माधव नेपालले आफनै भान्जालाई उचालेर युवा संघ फुटाए !

काठमाडौँ– पूवप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल विभाजन भएको छ। अध्यक्ष नेपालका भान्जा नितेश पौडेलले नै युवासंघ विभाजन गरेका हुन।
शनिवार काठमाडौँमा भेला गरी पौडेलले समानान्तर कमिटी गठनको घोषणा गरे। संस्थापन पक्षले यो विभाजनको आरोप अध्यक्ष नेपाललाई नै लगाएको छ। आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ।
युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि भदौ ०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो। विश्वकर्माको कमिटीलाई फागुन ०८० भित्र महाधिवेशन गर्ने म्यान्डेट थियो।
तर, महाधिवेशन तोकिएको मितिमा नगरेर कार्यकाल लम्ब्याएको भन्दै शनिवार सहसंयोजक पौडेल समूहले आफ्नै संयोजकत्वमा फुर्वा लामा सहसंयोजक रहेको समानान्तर कमिटी घोषणा गरेको हो। समानान्तर कमिटी गठन गर्ने पौडेलसहितका नेताहरूलाई विश्वकर्मा नेतृत्वको समितिले २७ जेठमा कारबाही गरेको घोषणा गरेको छ।
संयोजक कृष्णकुमार विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई सङ्गठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम सङ्गठनको सबै जिम्मेवारीबाट निष्कासन गरेको उल्लेख छ।