फेसबुकमा मनकामना दर्शनको फोटो हालेर १ साताअघि नै लुसुक्क क्यानडा उडेका थिए सन्दीप लामिछाने

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले गत ७ जूनमा फेसबुकमा एउटा फोटो शेयर गरे। ‘मनकामना मन्दिरको दर्शन। मनकामना माताले सबैको मनोकामना पूरा गरून्’ भन्दै अपलोड गरिएको फोटोमा उनी मनकामना दर्शन गर्दै गरेको देखिन्थ्यो। यो फेटो शेयर भएपछि अधिकांशले सन्दीप धर्मकर्ममा लागेको अनुमान गरे।
अमेरिकाले भिसा नदिँदा विश्वकप खेल्नबाट वन्चित भएका लामिछाने मन वहलाउन निस्किएको रुपमा धेरैले फोटोलाई अर्थ्याए। तर, अहिले भने यो फोटोको रोचक तथ्य वाहिर आएको छ। उनी मनकामना दर्शन गरेको फोटो फेसवुकमा हालेर एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका पदाधिकारीले नै खोलेका छन्।
सन्दीप लामिछाने विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषय क्यानले पनि गोप्य राखेको थियो। उनी स्वयमले पनि असम्वन्धित फोटो पोष्ट गरेर सबैलाई आँखामा छारो हाले। त्यो फोटो हाल्दा उनी क्यानडा पुगिसकेको तथ्य क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन्।
अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको बताएका छन्। ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो। तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन।’ उनले भनेका छन्–‘टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ। क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन। त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो।’
नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा अनेक बाधा उत्पन्न हुन सक्ने आँकलन गरेर सन्दीपको यस पटकको यात्रालाई गोप्य राखिएको चन्दको भनाइ छ। क्यानडामा सन्दीप क्रिकेट एकेडेमीमा रहेर नियमित अभ्यास गरिरहेका छन्। नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए।