शिलालेखमा नाम लेखाउने हतारले फेटामा रक्तपात, छानबिन समिति गठन, गोली चलेको घटनापछि इन्स्पेक्टरको जिम्मेवारी खोसियो
बारा— अस्पतालको भवन तयार भयो, उदघाटनको मिति पनि तय भयो। तर अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र पूर्वाधारको व्यवस्था पूरा भएको थिएन। स्थानीयको माग थियो—पहिले अस्पताललाई उपचार गर्न सक्ने अवस्थामा पुर्याऊ, त्यसपछि उदघाटन गर।
तर उदघाटनको कार्यक्रम रोकिएन। शिलालेखमा कसको नाम रहने भन्ने विवाद र राजनीतिक प्रतिष्ठाको टकरावबीच फेटामा सुरु भएको तनाव अन्ततः प्रहरीको गोलीसम्म पुग्यो। २० वर्षीय आदित्य पासवान घाइते भए। घटनापछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइएको छ। समितिमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साह र प्रदेश प्रहरी कार्यालय, वीरगन्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्। समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ।
घटनामा प्रहरीको गोली लागेर घाइते भएका फेटा गाउँपालिका–३ का २० वर्षीय आदित्य पासवानको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको कम्मर/पछाडिको भागमा गोली लागेको बताइएको छ। पहिलो चरणको शल्यक्रिया गरिएको र थप उपचारका लागि काठमाडौं लैजाने विषयमा छलफल भइरहेको स्रोतहरूले बताएका छन्।
घटनामा खटिएको प्रहरी टोलीका कमान्डर प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ। प्रहरी स्रोतका अनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो। तर गोली चलाउने निर्णय कसले गरेको थियो, गोली चलाउनुअघि माथिल्लो निकायसँग अनुमति लिइएको थियो कि थिएन र घटनास्थलको अवस्था नियन्त्रणबाहिर जानुमा कसको कमजोरी थियो भन्ने प्रश्नको जवाफ भने छानबिन प्रतिवेदनले दिन बाँकी छ।
फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शैय्याको अस्पताल उदघाटन गर्ने कार्यक्रम शनिबारका लागि तय गरिएको थियो। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले दिउँसो २ बजे कार्यक्रम राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। उनी कलैयासम्म आइपुगे पनि कार्यक्रमस्थल पुग्न सकिनन्।
स्थानीयको विरोध भने अस्पताल उदघाटन गर्ने निर्णयप्रति थियो। उनीहरूको भनाइमा भवन बने पनि अस्पतालले बिरामीको उपचार सुरु गर्न सक्ने अवस्था थिएन। रंगरोगन, विद्युत, खानेपानी, बेड, स्वास्थ्य उपकरण, चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था पूरा भएको थिएन। सेवा सुरु गर्ने तयारीबिनै उदघाटन गरेर शिलालेखमा राजनीतिक व्यक्तिहरूको नाम राख्न खोजिएको भन्दै उनीहरूले कार्यक्रम रोक्न माग गरेका थिए।
अस्पताल भवन निर्माणका लागि संघीय सरकारको अनुदानमा करिब १४ करोड ९८ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले भवनको काम सम्पन्न गरेको गाउँपालिका अध्यक्ष अन्सारीको दाबी थियो। बाँकी सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था क्रमशः मिलाइने उनको भनाइ थियो। तर स्थानीयले भवन निर्माण सम्पन्न हुनु र अस्पताल सञ्चालनका लागि तयार हुनु एउटै कुरा नभएको भन्दै प्रश्न उठाएका थिए।
उदघाटन कार्यक्रम नजिकिँदै गर्दा विरोध चर्कियो। स्थानीयले कालो झन्डा र प्लेकार्डसहित प्रदर्शन गरे। करिब पाँच सय जनाको उपस्थिति रहेको कार्यक्रममा उदघाटन पक्ष र विरोधमा उत्रिएका स्थानीयबीच तनाव बढ्दै गयो। शिलालेख, टेन्ट र कार्यक्रमको व्यवस्थापनलाई लिएर विवाद चर्किएपछि तोडफोडसमेत भयो। शिलालेख र टेन्टमा क्षति पुग्यो भने अस्पतालका केही सिसा फुटाइएका थिए।
स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले लाठीचार्ज गरेको र प्रदर्शनकारीले ढुंगामुढा गरेको विवरण सार्वजनिक भएका छन्। त्यसक्रममा प्रहरी र स्थानीय दुवैतर्फ घाइते भए। केही मोटरसाइकलमा आगजनीसमेत भएको छ। तर झडपमा कति प्रहरी घाइते भए र कति मोटरसाइकल जले भन्ने विवरण विभिन्न स्रोतमा फरक–फरक आएका छन्।
प्रहरीले एक राउन्ड हवाई फायर गरेको बताएको छ। प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालले पनि एक राउन्ड हवाई फायर भएको स्वीकार गरेका छन्। तर गोली हवाई फायर गरिएको भनिए पनि त्यसबाट स्थानीय युवा आदित्य पासवान घाइते भए। प्रहरीको दाबीमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिएको थियो।
यता, सीडीओ खडानन्द अधिकारीले प्रहरीबाट गोली चलाउनुअघि आफू र जिल्ला प्रहरी प्रमुखलाई जानकारी नगराइएको बताएका छन्। प्रहरीको गोली चलाउने निर्णय र त्यसको कमान्ड शृंखलाबारे उनले प्रश्न उठाएका छन्। प्रहरीको गोली लागेर स्थानीय घाइते भएपछि घटनाको छानबिन सुरु गरिएको उनको भनाइ छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको कमान्डमा २५ जनाको टोली खटिएको थियो। गोली चलाउने आदेश कसले दियो, हवाई फायर गर्ने निर्णय किन र कुन परिस्थितिमा भयो तथा त्यसक्रममा गोली स्थानीय युवालाई कसरी लाग्यो भन्ने विषय अब छानबिनको मुख्य प्रश्न बनेको छ। प्रहरी निरीक्षक लामालाई जिम्मेवारीबाट हटाइनुले पनि घटनामा प्रहरी कमान्डको भूमिकामाथि प्रश्न उठाएको छ।
घटनापछि कलैया, सिमरा र वीरगन्जबाट थप प्रहरी परिचालन गरिएको थियो। सीडीओका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको छ। तर फेटाको घटनाले एउटा गम्भीर प्रश्न छाडेको छ—करोडौँ खर्च गरेर बनाइएको अस्पतालमा उपचार सेवा सुरु गर्ने तयारीभन्दा उदघाटनको औपचारिकता किन प्राथमिकतामा पर्यो? अस्पतालको ढोकाबाट बिरामीले सेवा पाउनुअघि त्यही परिसरमा प्रहरीको गोली चल्ने अवस्था कसरी बन्यो?
अस्पतालको शिलालेखमा नाम लेखिएला, उदघाटनको फोटो र समाचार पनि आउला। तर गोली लागेर घाइते भएका आदित्यको उपचार, अस्पताल सञ्चालनको अधुरो तयारी र प्रहरीको बल प्रयोगको जवाफदेहिताको प्रश्न भने शिलालेखमा लेखिने नामले मेटिने छैन।
लोकप्रिय
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
रवि अग्रवालको नागरिकता फाइलमा आगो, अनुसन्धान अझै जारीः सर्लाही प्रशासनको जवाफले उब्जायो गम्भीर प्रश्न

