चिर्पटले हानेर ७० वर्षीया वृद्धाको हत्या गरेको ५ महिनापछि आरोपितलाई जन्मकैदको सजाय

राजविराज– सप्तरीको खडक नगरपालिका–११, बनौलीमा ५ महिनाअघि ७० वर्षीया वृद्धको हत्या भएको घट्नाका आरोपितलाई सप्तरी जिल्ला अदालतले आईतबार जन्मकैदको सजाय सुनाएको छ।

उमावती चौधरीको हत्याको आरोप लागेका सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीको कसुर प्रमाणित गर्दै न्यायाधीश उमानाथ गौतमको इजलाशले जन्मकैदको सजाय सुनाएको हो। फैसला अनुसार लक्ष्मीले पीडितको हकवालालाई क्षतिपूर्ति बापत १ लाख ५० पनि वुझाउनु पर्ने छ।

मृतकका छोरा कृष्णकान्त चौधरीका अनुसार ६ माघ ०८० मा लक्ष्मीले घरमै गएर दाउराको चिरपटले उमावतीलाई कुटपिट गरेका थिए। उनी भुईमा ढलेपछि छुट्याउन गएका उमावतीका कान्छा छोरा १७ वर्षीय बिक्रम चौधरी समेत घाइते भएका थिए।

निधारमा गम्भिर चोट लागेर घाईते वृद्धालाई उपचारका लागि विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा विराटनगरस्थित न्युरो एण्ड कार्डिओ अस्पतालमा १२ माघमा मृत्यु भएको थियो। मृतकका अर्का छोरा ब्रह्मदेव चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा सोही दिन लक्ष्मी विरुद्ध उजुरी दिएका थिए।

आरोपित लक्ष्मीलाई भने इलाका प्रहरी कार्यालय कल्याणपुरले ७ माघमै पक्राउ गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको थियो। उमावतीको मृत्यु पश्चात १२ माघमा प्रहरीले उक्त उजुरी कर्तव्य ज्यानमा परिणत गरी अनुशन्धान पश्चात सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको २ फागुनको इजलाशको आदेश अनुसार आरोपित लक्ष्मी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *