बुबाआमा दुवैले दोस्रो विवाह गरेपछि विरक्तिएर गेष्ट हाउसमा काम गर्न थालेकी किशोरी बलात्कृत

काठण्माडौं– बुबाको दोस्रो विवाह र आमा पनि अर्कैसँग हिँडेपछि विरक्तिएर काठमाण्डौंको गेष्टहाउसमा काम गर्न थालेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना भारतीय तिर्थयात्रीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पशुपतिनाथ मन्दिर घुम्न आएका ४ जना भारतीय युवासहित ७ जनाको समुहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार घट्ना गत १९ जेठको हो। काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसका सञ्चालकसँग साढे ६ हजार रुपैयाँमा कुरा मिलाएर पीडित किशोरीलाई युवाहरुको समुहले लिएर हिडेको थियो।
भारतीय नम्बर प्लेटको फर्च्युनर गाडीमा राखेर उनीहरु ठमेलस्थित स्काइलाइन होटलमा पुगे। त्यहाँ उनिहरुले आफु पनि मदिरा सेवन गरेको र किशोरीलाई पनि जबरजस्ती मदिरा सेवन गराइएको पाईएको छ। त्यसपछि किशोरीलाई लिएर एक जना होटलको कोठाभित्र पसे भने बाँकी त्यहाँबाट निस्किए।
तर, पहिलो युवकसँग शारीरिक सम्बन्ध राखेपछि अरू युवा पुनः कोठामा आएर शारीरिक सम्बन्ध राख्न खोजे। त्यसपछि किशोरीले प्रहरी बोलाईन। उनका अनुसार गेस्ट हाउसका सञ्चालकले ‘गेस्टहरू आउँदै छन्, एक जनासँग रात बिताए २ हजार रुपैयाँ दिन्छन्’ भन्दै जानकारी गराएका थिए। तर, सर्त विपरित जवरजस्ती यौन सम्वन्ध राख्न खोजेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन्।
प्रहरीका अनुसार ४ जना भारतीय युवा गत ३१ मे मा वीरगन्ज आएका थिए। त्यहाँबाट नेपाली साथीलाई लिएर उनीहरू जेठ १८ गते स्काइलाइन होटल पुगेको खुलेको छ। भोलिपल्ट पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको र सुन्धारामा आएर खाना खाएपछि वीरगन्जका साथीले बेलुका केटी मिलाउँछु भनेको पक्राउ परेका भारतीय युवाले बताएका छन्।
गेस्ट हाउस सञ्चालकसहित ७ जनाविरुद्ध जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र मानव बेचबिखन कसुरमा अभियोग दायर भएको प्रहरीले जनाएको छ।