श्रीमान नेपाल र श्रीमती कतारमा बसेर ५ लाख रुपैया गोटा नेपाली महिलाको खरिद विक्री
काठमाण्डौं– श्रीमान नेपाल र श्रीमती कतारमा बसेर उपभोग्य सामग्री झै नेपाली महिलाको खरिद विक्रि गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि भन्दै कतारमा लगेर महिलाहरुलाई विक्रि गरेको आरोपमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।
ब्यूरोका एसपी गौतम मिश्रका अनुसार लामाले महिलाहरुलाई कतार पठाउनका लागि कागजातसमेत नक्कली बनाउने गरेको खुलेको छ। ङेमाले ‘मेरो श्रीमती पनि कुवेतमै छ। राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुन्छ’ भन्दै प्रलोभनमा पारेर नेपाली महिलाहरुलाई कतार पठाउने गरेको ब्यूरोको दावी छ।
केही समयअघि यसैगरी उनीहरुले एक महिलालाई कतार पुर्याएका थिए। ती महिलासँग ९५ हजार रुपैयाँ लिएर ‘वर्किङ भिसामा क्लिनरको काम’ भन्दै ५ कात्तिक २०८० मा ङेमाले कतार पठाएको खुलेको छ।
कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ। त्यसपछि कुवेती नागरिकले ती महिलालाई बन्धक बनाई घरेलु कामदारको रुपमा राखेका थिए।
ती महिलालाई पारिश्रमिक नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ। ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन्। तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो। उजुरीपछि उनी ३ दिन थुनामा परिन। पछि ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी उनी पुनः नेपाली दुतावास पुगिन।
दूतावासले ट्राभल डकुमेन्ट बनाई दिएपछि उनी २९ माघ २०८० मा नेपाल आएर ङेमाका श्रीमान श्रीमती विरुद्ध जाहेरी दिएकी थिईन। उनकै जाहेरीका आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी मिश्रले वताए।