त्रिशुलीमा वेपत्ता बस र यात्रु खोज्न प्रयोग गरिएको ‘सोनार क्यामरा’ के हो, कसरी गर्छ काम ?

चितवन—
त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बस र यात्रुको खोजी गर्न सोमबारदेखि ‘सोनार क्यामरा’ को प्रयोग सुरु गरिएको छ। पानीभित्रका वस्तुहरूको संकेत दिने र आकृति देखाउने यो उपकरण उच्च क्षमताको भएको जनाईएको छ।
घट्नाको ५ दिन वितिसक्दा पनि बस र धेरै यात्रु फेला नपरेपछि सशस्त्र प्रहरीको मुख्यालयबाट इन्जिनियरसहित प्राविधिक टोली खटाईएको हो। ‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने जनाईएको छ।
पुरानो प्रविधिको ‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्म पानीभित्र वस्तु छ या छैन भन्ने संकेत दिने र नयाँ प्रविधिको सोनार क्यामराले वस्तुको आकार र आकृति नै देखाउँने सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थपन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरी बताउँछन्।
पुरानो ‘सोनार’ सोमबार अघि पनि प्रयोग गरिएको थियो। शनिवार त्यसैको संकेतका आधारमा गोताखोरहरू त्रिशूलीभित्र गएका थिए। तर, पानीको सतहमा कंक्रिटको ठूलो ब्लक फेला परेको उनको भनाई छ। नयाँ सोनारले ढुंगा भए त्यहीअनुसारको आकृति देखाउने र बस वा अन्य कुनै बस्तु भए सोही अनुसारको आकृति देखाउने उनले जानकारी दिए।
अहिले प्रयोगमा ल्याईएको ‘सोनार’ले पानी धमिलो भए पनि काममा केही फरक नपर्ने पुरीले बताए। ‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ। तर, सोमबार साँझसम्म ‘सोनार’ले २ किमि तलसम्म खोजी गर्दा पनि केही फेला पारेन।
शुक्रबार बिहानी करिव ३ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस सिमलतालमा पहिरोमा बगाएका थियो। दुवै बस त्रिशूलीमा खसेर बेपत्ता भएका छन्।
नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा भएको यो घट्नामा परेको एउटा बसका ३ जना यात्रुले पौडेर ज्यान जोगाएका थिए भने बाँकी यात्रु बससँगै बगेका थिए।
चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ। हालसम्म १४ जनाको शव फेला परेको छ