सिमलताल पहिरो अपडेटः आजदेखि खोजतलास रोक्ने तयारी, भारतीय टोली फर्किदै

चितवन– चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७औं दिन पुगेको छ। तर, दुवै बस र ३७ जना यात्रुको अवस्था अझै अज्ञात छ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले खोजतलासलाई निरन्तरता दिईरहेका छन्। सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गर्दा समेत बस र यात्रु फेला परेका छैनन्।

लगातार १६ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनेका छन्। खोजतलासमा पनि शव फेला पर्न छोडेको चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए।

खोजीका लागि आएको भारतीय टोली आज फर्किने तयारीमा छ। नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने तयारी गरेको छ। आज सरोकारवालाबीच छलफल गरेर खोजी कार्यलाई निरन्तरता दिने की रोक्ने भन्ने निर्णय हुने सीडीओ यादवले वताए।

गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका– २९, सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। त्यसमध्येमा २१ जनाको शव सनाखत भएको छ। ४ शवको अझै सनाखत हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट