काठमाण्डौंको पोडेटोलमा दुई समुहको झडप, खुकुरी प्रहारबाट एक जनाको मृत्यु

काठमाण्डौं– काठमाडौंमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। काठमाण्डौं महानगरपालिका–१७ ढल्कुस्थित पोडेटोलमा झडप भएको हो।
झडपमा खुकुरी हानाहान भएको र ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको प्रहरीले जनाएको छ। छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनिलको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार अन्य ६ जना घाइते भएका छन्। पोडेटोल घर भएका ५२ वर्षीय सुबिन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते छन्।
घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।
एसपी अधिकारीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षका रबिन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन्।