हिरासतमा गीता पाठ गरेर समय विताउँछन् बेचन झा, हल्ला गरे जस्तो प्रमाण नभेटिएपछि हार खाँदै प्रहरी
काठमाण्डौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुअघि अत्याधिक चर्चामा रहेर पक्राउ परेपछि फासफुस भएको नाम हो– बेचन झा। उनी पक्राउ परेपछि राजनीतिक दलका नेताहरुको कनेक्सन खुल्ने आशा गरिएको थियो।
खास गरी झाको बयानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र परराष्ट्रमन्त्री आरजु राणा प्रहरी हिरासतमा पुग्ने धेरैको आँकलन थियो। किनकी शरणार्थी प्रकरणमा पक्राउ परेका विचौलियाले झाको नाम लिँदै उनको कनेक्सन राजनीतिक दलका नेताहरुसम्म रहेको बयान दिएका थिए।
‘१३ असार ०७८ को मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग २ करोडको चेक लिएको प्रहरीको अनुसन्धानबाट पनि खुलेको थियो। त्यसैले उनी महत्वपूर्ण पात्रका रुपमा चर्चामा थिए।
झा पक्राउ परेसँगै राजनितिक वृत्तदेखि प्रहरी प्रशासनमा समेत हलचल मच्चिएको थियो। तर, उनले भने आफुले चेक नलिएको दावी गरेका छन्। उनले भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला।’ त्यसपछि प्रहरीले उनलाई बयान लिएर थुनामा राखिरहेको छ।
सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ। १४ असारमा पक्राउ परेका बेचन झाले भने अहिलेसम्म कसैको नाम चुहाएका छैनन्। प्रहरीको डेढ महिनासम्मको अनुसन्धानमा हाइप्रोफाइलको कुनै संलग्नता खुल्ने प्रमाण भेटिएन। प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा राजनितिक कनेक्सन देखिने र बाहिर हल्ला गरिएको जस्तो व्यक्तिका संलग्नता भएको नखुलेको एक अनुसन्धान अधिकृतले बताए।
उनी भन्छन्– ‘बाहिर हल्ला चलेको जस्तो केही प्रमाण भेटिएन। उसलाई कारागारमा राखेर मुद्दा अगाडी बढ्ने जतिको पनि प्रमाण छैन।’ उनले आफुमाथि लागेको आरोपलाई समेत अस्वीकार गरिदिएका छन्।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका विचौलीया रामशरण केसीले पनि उनलाई चेक दिएको बयानमा खुलाएका छन्। चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ। तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन्।
केसीका अनुसार ८ मंसिर ०७८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन्। तर, प्रहरीले चेक बरामद गर्न सकेको छैन। प्रहरीका अनुसार काठमाण्डौं महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन्। उनको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ।
हाल उनी जिल्ला प्रहरी परिसर काठमाण्डौंको हिरासतमा छन्। उनले धार्मिक ग्रन्थ ‘श्रीमद भगवत् गीता’ पाठ गरेर समय विताउँने गरेका छन्। झालाई अरू थुनुवासँगै राखिएको छ। थुनामा उनले सामान्य जिवन यापन गरिरहेका छन्।