माईतीबाट फर्केकै दिन २० वर्षीया किशोरीको शंकास्पद मृत्यु, हत्या भएको आशंका

जनकपुर– महोत्तरीको जलेश्वर नगरपालिका–८, रमौलकी २० वर्षीया रिनादेवी रायको शंकास्पद रुपमा मृत्यु भएको छ। रिनाका माईतीले दहेजका कारण उनको हत्या भएको आरोप लगाएका छन्।
गत १९ वैशाख रोहनकुमार राउतसँग विवाह गरेकी रिना रक्षाबन्धनका लागि सोमबार धनुषाको हंसपुर नगरपालिका–६ सोनिगास्थित माईत गएकी थिईन। उनी मंगलबार नै घर फर्किईन।
माइतबाट फर्किएकै दिन उनको शंकास्पद मृत्यु भएको हो। रिनाका माइतीका अनुसार उनलाई ‘दाइजो कम ल्याएको’ भन्दै तनाव दिने गरिएको थियो। उनलाई पटक–पटक शारीरिक यातनासमेत दिएको रिनाका बुबा नवलले बताए। दहेजकै कारण आफनी छोरीको हत्या भएको उनको आरोप छ।
घरपरिवारका सदस्यले भने माईतबाट आएपछि रिना अचानक बिरामी भएको र मृत्यु भएको दावी गरेका छन्। प्रहरीले रिनाको शव घरको बरण्डामा फेला पारेको थियो। महोत्तरी प्रहरीका डिएसपी सन्तुलाल जयसवालका अनुसार रोहनको परिवारले ‘राति अचानक बिरामी भएपछि अस्पताल पुर्याएको’ पनि बयान दिएको छ।
रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको डिएसपी जयसवालले बताए।