गोली हानेर मारिएको बँदेल बेवारिसे देखाएर पूर्वडीआईजी र बहालवाला सईलाई उन्मुक्ति

राजविराज– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१, कोसी पलार क्षेत्रमा मारेको बँदेलसहित बुधबार राति नेपाल प्रहरीका पूर्वडीआईजी (प्रहरी नायब महानिरीक्षक) ६१ वर्षीय ज्ञानविक्रम शाहसहित १० जना शिकारी पक्राउ परे।

पक्राउ पर्नेमा पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ निवासी ३७ वर्षीय आकाश बहडखेर यादव र नेपाल प्रहरीका वहालवाला सई (प्रहरी नायव निरिक्षक) ४४ वर्षीय सञ्जय न्यौपानेसमेत छन्।

गाँजा तस्कर पछ्याउँदै त्यहाँ पुगेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले हतियारसहित शिकारी टोली देखेपछि उनीहरुलाई पक्राउ गरेको थियो। पूर्वडीआईजी, वहालवाला सई र पूर्वउपसभामुखका छोरासमेत रहेको खुलेपछि प्रहरीले उनीहरुलाई उतिखेरै छोड्ने योजना बनाएको थियो। तर, स्थानीयवासीले घटनाको वारेमा जानकारी पाईसकेकाले त्यो योजना असफल भयो।

तर, सप्तरी प्रहरीले अहिले सवैजनालाई जिम्मा जमानीमा छोडिसकेको छ। बँदेलसहितको को २ त ६९ नम्बरको ट्याक्टर बेवारिसे अवस्थामा फेला परेको मुचुल्का उठाएर विहिबार साँझमा दबाब दिएर सव डिभिजन वन कार्यालय कन्चनपुरको जिम्मा लगाईएको छ। सिकारी टोली चढेको प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो र हतियार जिल्ला प्रहरी कार्यालयमा छ।

रिसोर्ट सञ्चालक हुन शाह
सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी पूर्व डिआईजी शाहले सुनसरीको कोशी कटान र इटहरीमा फनपार्क रिसोर्ट सञ्चालन गरेका छन्। उनी लामो समयदेखि सप्तरीमा आएर शिकार खेलेर जाने गरेको स्थानीयहरु वताउँछन्।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्येवर्ती क्षेत्रमा समेत पसेर उनको टोलीले बँदेल, दुम्सी, खरायो, हरिणलगायतका वन्यजन्तु मारेर लाने गरेको उनीहरुको भनाई छ। शाहले वन्यजन्तुको मासु रिसोर्टमार्फत विक्रि वितरण गर्दै आएका थिए भने काठमाण्डौंसम्म सप्लाई गर्ने गरेको स्रोतको दावी छ।

यस विषयमा भारदह, पोर्ताहा क्षेत्रका स्थानीयवासीले पटक–पटक सप्तरी प्रहरीलाई जानकारी दिएका थिए। तर, प्रहरीले टेरपुच्छर लगाएको थिएन। यस पटक भने शाह अन्जानमै पक्राउ परेर वाध्यतामा प्रहरी कार्यालयसम्म पुगेका हुन।

प्रहरीले बरामद गरेको २२ क्यालिवरको राइफल शाहकै नाममा रहेको प्रहरीले जनाएको छ। सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यका अनुसार उनले लाईसन्सको फोटोकपी उपलब्ध गराएका छन्। तर, प्रहरीले लाईसन्सको फोटोकपी सार्वजनिक गर्ने हिम्मत गरेको छैन। यसैगरी, ‘हतियारको लाईसन्स कुन क्षेत्रका लागि र कुन प्रयोजनका लागि दिईएको छ ?’ भन्ने विषय पनि प्रहरीले खुलाएको छैन।

सई न्यौपानेको विगत पनि विवादित
यता, नेपाल प्रहरीका बहालवाला सई संजय न्यौपानेको विगत पनि विवादित छ। मोरङको विराटनगर महानगरपालिका–३ घर भएका न्यौपाने अहिले बर्दिबासमा कार्यरत छन्। न्यौपाने ३ वर्षअघि सप्तरीमै कार्यरत थिए।

सप्तरीमा रहँदा उनले घुमुवा प्रहरीका नाममा राजमार्गका होटलमा आतंक मच्चाएका थिए। होटलमा गएर खानपिन गरिसकेपछि ‘म धुमुवा प्रहरी हो’ भन्दै पैसा उठाउँथे। साँझ परेपछि ‘यो होटलमा वेस्यावृत्ति गरेको सुचना आएको छ। लेनदेन गरेर कुरा मिलाउने भए ठिकै छ, नत्र कारवाही अगाडि वढाउँछु’ भन्दै पैसा असुलेको भन्दै होटल सञ्चालक आक्रोशित थिए।

यतिमात्रै होईन, ०७८ कात्तिकको दोस्रो साता कञ्चनरुप नगरपालिकाको रुपनगर स्थित धरापानीको एक होटलमा केही पर्यटकलाई उनले दुर्ब्यवहारसमेत गरेका थिए। उज्वेकिस्तानवाट आएका २० बर्षिय इनोबाट राजाबोभा, २२ बर्षीय इस्मिगुल राजाबोभा र १८ बर्षिय डाइना यूसुफपोभालाई दुर्ब्यवहार गरेको उनीमाथि आरोप लागेको थियो। न्यौपानेले उनीहरुसँग पनि पैसा असुलेर छोडिदिएको स्थानीयको भनाई थियो।

न्यौपानेको दुर्ब्यवहारमा परेपछि विराटनगर हुँदै भारत छिर्न खोजेका उनीहरुलाई भारतीय एसएसबीले जोगवनी नाकाबाट पक्राउ गरेको थियो। यो सवै प्रकरण वाहिर आएपछि सप्तरी प्रहरीका तत्कालिन डीएसपी माधव प्रसाद काफ्लेले अनुशन्धान गरेर कारवाही गर्ने बताएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट