गाउँले युवतीलाई होटलमा बन्धक बनाएर सामुहिक बलात्कार गर्ने पालिकाका कर्मचारीसहित ३ जना पक्राउ

काठमाण्डौं– एक युवतीलाई तालिममा सहभागी गराउने भन्दै झुक्याएर होटेलमा पुर्याई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको एक गाउँपालिकाका कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ।
कोटहीमाई–६ का मनोहर चौधरी (कुर्मी), कोटहीमाई–५ का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३ का शैलेशकुमार पाण्डे पक्राउ परेका हुन। उनीहरु माथि गाउँकै एक युवतीलाई झुक्याएर होटलमा पुर्याई वन्धक बनाएर सामुहिक बलात्कार गरेको आरोप छ। पक्राउ परेका मध्य मनोहर चौधरी गाउँपालिकाको शिक्षा प्राविधिक सहायक हुन।
आफन्तले दिएको जानकारी अनुसार गत ५ भदौमा मनोहरले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर लुम्विनीको एक होटेलमा पुर्याएका थिए। त्यसपछि भैरहवानजिकै बनगाईमा रहेका मुकेशकुमार र शैलेशकुमार पनि होटेलमा पुगेका थिए।
होटेलमा अन्य सहभागी नदेखेपछि युवतीले घर फर्किने जनाएकी थिईन। तर, उनीहरुले ‘अन्य सहभागी आउँदै छन्’ भनेर अलमल्याएर राखेका थिए। त्यसपछि युवतीलाई रातभर होटलमा बन्धक बनाई तीनै जनाले बलात्कार गरेको पाईएको छ।
६ भदौको बिहान मुकेशले नै युवतीलाई गाउँनजिकै पुर्याएर छोडेका थिए। लोकलाजका कारण उनले कसैलाई पनि घट्ना बारे बताउन सकिनन्। तर, गुप्ताङ्गबाट धेरै रगत बग्न थालेपछि घट्ना सार्वजनिक भएको पाईएको छ।
घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए। त्यसक्रममा आरोपितमाथि कुटपिटसमेत भएको थियो। त्यसपछि उनले नै अन्य दुई जनाको सहभागिताबारे खुलेका थिए। युवतीका आफन्तले तीनै जना विरुद्ध शनिबार प्रहरीमा जाहेरी दिएका छन्।
सोही जाहेरीपछि आरेपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर भट्टले बताए।