२० दिनअघि सातदोबाटोमा भएको लुटपाट प्रहरीले नै गरेको खुलासा, ३ जना पक्राउ

काठमाण्डौ– काठमाण्डौंको सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिक २० दिनअघि भएको लुटपाट प्रहरीले नै गरेको खुलासा भएको छ। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै प्रहरी जवान डम्मलाल पाध्यायसहित ४ जनाले लुटपाट गरेको खुलेको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोप लागेका प्रहरी जवान बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल, खोटाङको दिक्तेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का प्रकाश श्रेष्ठ (विकास श्रेष्ठ) र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भुजेल (मनोज भुजेल) पक्राउ परेका छन्। एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरुले २९ साउनको दिउँसो साढे १२ बजे ट्याक्सी रोकेर प्यासेन्जरलाई लुटपाट गरेका थिए। विमानस्थलबाट गोदावरी जाँदै गरेको ट्याक्सी रोकी २ वटा आईफोन–१५, २ सामसुङका मोवाईन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, २ वटा सिक्री लुटेका थिए।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी प्रहरी वृत्त, सातदोबाटो पठाएको छ।