वडाध्यक्ष खोजिदिन गाउँपालिकामा ज्ञापनपत्र, १० महिनादेखि हङकङमा के गर्दैछन् बोखिम?

विराटनगर– ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ सिकैँचाका वडाध्यक्षको खोजी गरिदिन स्थानीयले गाउँपालिकामा ज्ञापन पत्र वुझाएका छन्।

वडाध्यक्ष दिलप्रसाद बोखिम १० महिनादेखि वडामा उपस्थित नभएपछि स्थानीयले उनको विषयमा चासो राखेका हुन। सिकैँचाका शक्तिलाल पौडेल, अमित काङ्भा, मणिकुमार लिम्बू, निर्मलकुमार यवागु, छत्र काङ्भा र छविलाल निरौला ज्ञापनपत्र वुझाउन गाउँपालिका कार्यालयमा पुगेका थिए।

उनीहरुले कार्यवाहकको भरमा १० महिनादेखि वडा कार्यालय सञ्चालन हुँदा वडामा समस्या उत्पन्न भएको जनाएका छन्। ज्ञापनपत्रमा वडाध्यक्ष ०८० साल कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित रहेको उल्लेख छ। वडाध्यक्ष नहुँदा वडामा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको कामकारबाही प्रभावित भइरहेको उनीहरुले जनाएका छन्।

गाउँपालिका कार्यालयमा बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई उपस्थित हुने अवस्था नरहेमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वडावासीको भनाइ छ । ०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर बोखिम वडाध्यक्षमा निर्वाचित भएका थिए। बोखिमको अनुपस्थितिमा वडासदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएका छन्।

उनीहरुले ज्ञापन पत्र वुझाएपछि वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीका लागि हङकङ पुगेको खुलेको छ। गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबोले वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङ गएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट