सहकारी ठगी प्रकरणमा कांग्रेस नेताले नै मागे उपसभापति र सांसदबाट धनराज गुरुङको राजिनामा

काठमाण्डौं– सहकारी ठगी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेका छन्। कांग्रेसकै नेताले पार्टी उपसभापति र सांसद पदबाट गुरुङको राजिनामाा माग्न थालेका छन्।

कांग्रेस नेता भीमसेनदास प्रधानले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि गुरुङले राजीनामा दिनुपर्ने बताएका छन्। रिपोर्टर्स नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रश्न उठेपछि उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।

‘यो उहाँको आत्मनिर्णय गर्ने हो। विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो। आत्मसमीक्षा गर्नुपर्छ। धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो। छानबिनले कारबाही सिफारिस गरेको छ।’– प्रधानले भने।

राजीनामा नदिए कांग्रेसले पार्टीभित्र छलफल गर्नुभन्दा अगाडि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने उनको भनाई छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङ दोषी देखिए जेल जाने प्रतिक्रिया दिएका छन्। कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि छानबिन सुरु भइसकेको बताए। नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने शर्माको भनाई छ।

‘उहाँमाथि छानबिन सुरु भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन। सीआईबीले छानबिन गरिरहेको छ। निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ। दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ।’

यता, सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सुर्य थापाले गुरुङलाई निर्दोश भन्न नमिल्ने बताएका छन्। उनी भन्छन्–‘उहाँ निर्दोष देखिनुहुन्न। उहाँले संसदमा भनेको कुरा र सहकारीको कारोबार हेर्दा त्यो मिल्दैन। उहाँको केही कैफियत छ, छानबिन हुनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट