पानी नपरे दसैंअघि नै बीपी राजमार्ग सञ्चालन, खोलामै अस्थायी सडक बनाईने

काठमाडौँ — बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्ग पानी नपरे अस्थायी रुपमा दशैंअघि नै सञ्चालमा आउने सडक विभागले जनाएको छ।
बीपी राजमार्गको नेपालथोक खण्डमा सबैभन्दा बढी क्षति भएको छ। यो सडकको विभिन्न खण्ड गरेर एक किलोमिटर भन्दा बढी सडक बगेको छ। यो खण्डमा अहिले यातायात ठप्प छ।
सडक विभागका महानिर्देशक इन्जिनियर रामहरि पोखरेलका अनुसार बीपी राजमार्गमा प्राविधिक सहितको टोली भकुण्डेबेंसी पुगिसकेको छ। भकुण्डेबेसीदेखि नेपालथोकको विभिन्न खण्डमा धेरै समस्या छ। त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइने छ।
विभिन्न ठाउँमा रहेका मेसिनहरूलाई लगेर सडक खोल्ने काम भइरहेको छ। यस क्षेत्रको धेरै ठाउँमा पानी नपरे एक हप्ताभित्र अस्थायी रूपमा सडक सञ्चालनमा आउने उनले बताए। दसैंअघि नै सडक खोल्नेगरी नै काम हुँदै छ।