बेलबारीमा कारको ठक्करबाट प्रहरी जवानको ज्यान गयो

विराटनगर– मोरङमा आईतबार राती कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ।
बेलबारी नगरपालिका–८, चिसाङ पुलनजिक पूर्व जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पश्चिम आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो। संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पु¥याईएको थियो।
अस्पताल पु¥याउनसाथ राईको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिएको छ।
प्रहरीले कार चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ।