सिन्धुली बस दुर्घटनाः गाडी मालिकको परिवारै घाईते, १ मृतको पहिचान खुल्यो (घाईतेको विवरणसहित)

काठमाडौँ– काठमाडौँबाट भोजपुर जाँदै गर्दा सिन्धुलीमा भएको दुर्घटनामा बसका मालिकको परिवारै परेको खुलेको छ। ३९ यात्रु बोकेर हिडेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस सोमबार दिउँसो करिव ३ बजे हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडीस्थित भलखाडामा पल्टिएको थियो।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–१ का २६ वर्षीय मृतक बुद्धिमान तामाङसहित २ जनाको मृत्यु भएको छ। सांग्रिला विकास बैंकको एटिएम र बस टिकटका आधारमा तामाङको पहिचान खुलेको हो। अर्का मृतकको पहिचान खुलेको छैन।

घट्नामा गाडी मालिक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, जयरामघारका ४६ वर्षीय कान्छा कार्की, १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जली समेत घाईते भएका छन्। हात र कम्मरमा चोट रहेका कार्कीकासँगै उनका छोराछोरीको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार गाडी दुर्घटनामा २३ जना घाइते भएका थिए। गम्भीर अवस्थाका १० जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ। जसमा गाडी चालक उदयपुरको त्रियुगा नगरपालिका–९ का ४० वर्षीय रमेश दनुवारसमेत छन्।

सामान्य अवस्थाका १० जना उपचारपछि घर फर्किएका छन् भने तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन्। गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको खुलेको छ। तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। गाडी मालिक कार्कीले भने आफु निदाएका कारण कसरी दुर्घना भयो भन्ने थाहा नपाएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट