८ महिनापछि पाईलट बन्न लागेका छोराको शव मध्येदशैंमा आँगनमा आईपुगेपछि…

काठमाडौँ– पाईलट वन्नै लागेका तनहुँको व्यास नगरपालिका–२, दमौलीका २९ वर्षीय विराट पन्थको घटनास्थापनकै दिन (१७ असोज) दुर्घटनामा परी दक्षिण अफ्रिकामा मृत्यु भएको छ।
साथीको जन्मदिन मनाउन जाँदै गर्दा आफैँले चलाएको कार दुर्घटनामा परी उनको मृत्यु भएको हो। पन्थको शव शुक्रबार राति दमौली पुर्याई मादीसेती घाटमा दाहसंस्कार गरिएको छ।
उनको मृत्युले घरमा बज्रपात परेको छ। बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थसँग पीडा व्यक्त गर्न आँशु वाहेक शब्द छैनन। एक वर्षअघि पाईलट कोर्ष गर्न गएका विराट ८ महिनापछि नै पाइलट बन्दै थिए। उनले १० महिने कोर्ष पूरा गरिसकेका थिए।
छोरोको पाइलट बन्ने सपना पूरा हुने भएकाले यसपटकको दशैं विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षा गरेको पन्थ परिवार पीडामा परेको छ। छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए।