जुवा कारोवारीसँग २५ लाख लेनदेन गरेको घट्नामा मोरङका एसपीको जिम्मेवारी खोसिएको खुलासा

विराटनगर– अनलाइन जुवा खेलाउने गिरोहसँग २५ लाख रुपैयाँ लेनदेन गरेको घट्नामा जोडिएपछि मोरङ प्रहरीका एसपी नवराज कार्कीको जिम्मेवारी खोसिएको खुलासा भएको छ। सोही घट्नामा इन्स्पेक्टरसहित अन्य ४ प्रहरी पनि छानबिनमा तानिएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत विहिबार कोशी प्रदेश प्रहरी कार्यालय तानिएका छन्। चारै जना घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) हुन्।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार अनलाइन जुवा कारोबारीसँग २५ लाख लेनदेन गरेको रंगेहात फेला परेपछि ४ प्रहरी तानिएका हुन्। यही घट्नामा एसपी नवराज कार्की भने शुक्रबार नै हेडक्वाटर तानिएका थिए। प्रदेश प्रहरी कार्यालयले लेनदेनमा जोडिएका थप प्रहरीमाथि पनि छानबिन गरिरहेको जनाईएको छ।

विराटनगरमै भएको यो घटनामा संलग्न जुवा कारोवारी भने हालसम्म पक्राउ परेका छैनन्। प्रदेश प्रहरीले यो घट्नालाई गुपचुप राख्न चाहेको छ। छानविन सुरु भएपछि लेनदेन भएको रकम समेत फिर्ता भएको जनाईएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले अनियमितताको सूचनापछि कतिपय प्रहरीमाथि तथ्यका आधारमा छानबिन भइरहेको बताए। एसपी कार्कीमाथि भने प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने उनले बताए। थप कुरा भने उनले खुलाउन चाहेनन्। उनले रकम लेनदेन गरेको विषय आफूलाई जानकारी नभएको बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङको आन्तरिक विषयको छानबिन प्रदेश प्रहरीले गरिरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट