अवैद्य हतियार बोकेर सर्वसाधारणलाई धम्क्याउँदै हिड्ने सेनाका जवान खाजाघरबाट पक्राउ

काठमाडौँ– अवैद्य हतियार बोकेर काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनको एक खाजाघरमा पुगेका नेपाली सेनाका वहालवाला सिपाहीलाई प्रहरीले पक्राउ गरेको छ।

दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ रानीवन बस्ने अनिल खड्का (२५) लाई प्रहरीले शनिबार राती पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एक थान पेस्तोल बरामद गरेको छ।

नेपाली सेनाले खड्का नेपाली सेना भएको तर, बरामद भएको हतियार नेपाली सेनाको नभएको पुष्टि गरेको छ। उनी स्वयम्भूमा रहेको नेपाली सेनाको अस्थायी निर्देशमा काजमा खटिएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार खड्काले हतियार बोकेर हिँड्ने गरेको र स्थानीयलाई त्रसित बनाउने गरेको सूचनापछि टोली परिचालन गरेर पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालीका–१६ रानिवन नमुनावस्तीमा रहेको उनको कोठाबाट प्रहरीले अटो पेस्तोल युएस ६५ नो १ लेखिएको पेस्तोल र खाली म्याग्जीन फेला पारी बरामद गरेको अधिकारीले जानकारी दिए। घटनाका विषयमा प्रहरी वृत्त स्वयम्भूले अनुशन्धान गरिरहेको छ।

नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार अदालतको आदेश अनुसार नै खड्कालाई कारवाही हुने बताए। अदालतले उक्त मुद्दाका विषयमा सैनिक अदालतलाई नै जिम्मा दिनु भन्ने आदेश दिन सक्ने जनाईएको छ।

त्यस अनुसार भए सैनिक ऐनको व्यवस्था अनुसार बोर्ड गठन हुने, इन्क्वाइरी हुने, कोटमार्संल हुने लगायतको प्रक्रियामा जाने उनले जानकारी दिए। केसी भन्छन्, ‘हातहतियार र खरखजाना कसूरलाई गम्भीर विषयवस्तुका रूपमा हेर्ने गरिन्छ। ऐनमा विभिन्न प्रावधानहरू छन्। जेल सजायदेखि भविष्यमा सरकारी जागिरका लागि अयोग्य हुनेगरी जागिर जानेसम्मको सजाय पनि हुनसक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट