रवि लामिछाने चढेको सवा २ करोडको ‘टोयोटा फर्च्युनर’ गाडी सहकारीको पैसाबाट किनेको खुलासा

काठमाडौँ — सहकारी ठगी प्रकरणको वयानका क्रममा ‘जान्दिन, थाहा छैन, मेरो संलग्नता छैन’ भन्दै इन्कारी वयान दिँदै आएका पूर्वगृहमन्त्री रवि लामिछानेले चढ्ने ‘टोयोटा फर्च्युनर’ गाडी नै सहकारीको पैसाबाट खरिद गरिएको खुलासा भएको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चढ्ने सवा दुई करोडको उक्त गाडी काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा समेत शाखा खोलेर सञ्चालन भएको स्वर्णलक्ष्मी सहकारीको पैसाबाट खरिद गरिएको पुष्टि भएको हो। स्रोतका अनुसार गाडी किन्न निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक पनि भेटिएका छन।

लामिछाने १५ महिना गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक बनेर १ असार ०७९ वाहिरिएका थिए। योबीचमा गाडी खरिदलगायतका शीर्षकमा जीबी राई र लामिछाने दुई जनाको व्यक्तिगत तथा गोर्खा मिडिया प्रालिका नाममा स्वर्णलक्ष्मीबाट ठूलो रकम निकालिएको खुलेको छ।

कम्पनीका अध्यक्ष राईले ४ लाखको एउटा र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले १५ वटा चेक काटेर ८९ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको पाईएको छ। यही प्रकरण वाहिरिएपछि उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो।

स्रोतका अनुसार २०७७ माघमा वीरगन्ज भन्सारबाट भित्रिएको २७५५ सीसीको टोयोटा फर्च्युनर १३ असार ०७८ मा जीबी ग्रुप अफ कम्पनीजका नाममा खरिद गरिएको र ३ महिनापछि (६ असोज) गोर्खा मिडिया नेटवर्कका नाममा सारिएको थियो। यी दुई मितिका बीचमा (५ साउन) जीबी राई र रवि लामिछानेका नाममा ‘चारपांग्रे कर्जा’ शीर्षकमा ऋण खडा गरी सहकारीको रकम निकालिएको फेला परेको छ।

यही ऋणको किस्ता तिर्न लामिछाने स्वयंले काटेका चेकबाट उक्त कारोबार पुष्टि भएको हो। कम्पनीले सहकारीलाई तिर्न बाँकी रकमको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यता, सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरीले अनुसन्धान थालेपछि गोर्खा मिडियाको उक्त गाडी बिक्री भएको पाइएको छ। १२ असोज ०८० मा सिन्धुपाल्चोक मेलम्चीका पाण्डे थरका व्यक्तिका नाममा गाडीको स्वामित्व हस्तान्तरण भएको छ।

स्वर्णलक्ष्मीसहित पाँच सहकारीको ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर राई र लामिछानेसहितले अपचलन गरेको तथ्य प्रहरीले प्राप्त गरिसकेको छ।

रविसँग जिल्ला सरकारी वकिल कार्यालयमा आजदेखि बयान लिने तयारी छ। काठमाडौँमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ। लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले त्यसपछि उनलाई साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानका लागि चितवन लाने तयारी छ।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका हुन। त्यस यता उनी प्रहरी हिरासतमै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट