भारतको केरलामा १८ वर्षीया दलित छात्रा सामूहिक बलात्कृत भएको घटनामा ६४ जनालाई बनाईयो प्रतिवादी

भारतको केरला राज्यअन्तर्गत पथनमथिट्टामा १८ वर्षीया दलित छात्रा सामूहिक बलात्कृत भएको घटनामा ६४ जनालाई प्रतिवादी बनाईएको छ। ती मध्ये २० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरु छात्राका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक र अन्य व्यक्ति छन्। जसमध्ये दुई आरोपित १७ वर्षका नाबालिग छन् भने अन्य १९ देखि ४७ वर्षका छन्।

यस घटनामा अहिलेसम्म आठवटा एफआईआर दर्ता भइसकेका छन्। यी जाहेरी दुई प्रहरी चौकीमा दर्ता भएका हुन्। पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले एससी–एसटी ऐन र पोक्सोअन्तर्गत पनि मुद्दा दर्ता गरिएको बताए।

उनका अनुसार यी अपराध पाँच वर्षमा भएका छन्। पीडित त्यतिबेला नाबालिग थिइन्। यसबीच सामूहिक बलात्कारका तीनवटा घटना भएका छन्। यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालको साथीलाई पहिलो अभियुक्त बनाइएको छ। त्यतिबेला पीडित विद्यार्थी १३ वर्षकी थिइन्। यसबाहेक विद्यार्थीको साथी सामूहिक बलात्कारको कम्तीमा एउटा घटनामा संलग्न भएको आरोप छ।

पथनमथिट्टा जिल्ला अपराध शाखाको मिडिया सेलका सजीव एमका अनुसार पहिलो अभियुक्तको फोनमा यौन दुव्र्यवहारका प्रमाण छन्, जसबाट उसले विद्यार्थीलाई ब्ल्याकमेल गर्न, यौन शोषण गर्न र आफ्ना साथीहरूकहाँ लैजाने गरेका कुरा खुलेका छन्।

यो कुरा कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक काउन्सिलरको टोलीले पीडितको घर पुग्दा खुलेको हो। बाल कल्याण समिति, पथनमथिट्टाका अध्यक्ष तथा अधिवक्ता एन राजीवका अनुसार यस कार्यक्रमअन्तर्गत धेरै परिवारको विवरण संकलन गरिन्छ र उनीहरूको समस्या समाधानबारे परामर्श दिइन्छ।

पीडित र उनकी आमा सीडब्ल्यूसी अध्यक्षको कार्यालयमा गएर सबै कुरा बताएका थिए। ‘पीडितले हाम्रो मनोचिकित्सकसँग कुरा गरिन्, जतिबेला उनकी आमा बाहिर पर्खिरहेकी थिइन्। आमालाई उनको श्रीमान्को फोन ल्याउन भनियो र यसरी अपराधीहरूको नाम खुलासा भयो’, राजीवले भने।

सामान्यतया सीडब्ल्यूसीले यो मामिला प्रहरी चौकीको स्टेसन हाउस अफिसरलाई रिपोर्ट गर्ने अपेक्षा गरिन्छ। तर राजीवले भने, ‘हामीलाई लाग्यो कि यो एउटा पृथक घटना हो। त्यसैले हामीले प्रहरी उपरीक्षकलाई जानकारी गरायौँ र उनले तुरुन्तै कारबाही अघि बढाए।’

यसैबीच, राष्ट्रिय महिला आयोगले यस विषयमा राज्य सरकारसँग तीन दिनभित्र प्रतिवेदन ल्याउन भनेको छ। पीडित र उनकी आमालाई सुरक्षित घरमा लगिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट