विराटनगरमा बसको ठक्करबाट बाटो क्रश गर्दै गरेकी महिलाको मृत्यु

विराटनगर– कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ मा सोमबार साँझ यात्रु बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
हिमाल आँखा अस्पताल अगाडि साँझ करिब ६ बजे दुर्घटना भएको मोरङ ट्राफिक प्रहरीका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए। दुर्घटनामा विराटनगर–१४ की ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको छ।
प्रहरीका अनुसार रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख् ४४८३ नम्बरको बसले पैदलयात्री खातुनलाई सडक पार गर्दै गर्दा ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगियो। अस्पताल पुर्याउनासाथ करिव सवा ६ बजे उनको मृत्यु भएको इन्स्पेक्टर लम्सालले वताए।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। तीव्र गतिमा रहेका कारण दुर्घटना भएको उनको भनाई छ।