बाल यौन दुरुपयोगको कसुरमा रामबहादुर बम्जनलाई सफाई, एक महिनाअघि नै कारागार मुक्त

काठमाडाँ– बाल यौन दुरुपयोगको कसुरमा उच्च अदालत जनकपुरले सफाइ दिएपछि रामबहादुर बम्जन कारागार मुक्त भएका छन्। उच्च अदालतले ६ चैतमा बम्जनलाई सफाइ दिने फैसला गरेपछि ७ चैतमै उनी कारागार मुक्त भएको पाइएको छ।
करिब ८ महिनाअघि महोत्तरीको जलेश्वर कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको बम्जन त्यहीँबाट रिहा भएका हुन। उच्च अदालत जनकपुरका न्यायाधीशद्धय नरिश्वर भण्डारी र खेम राज भट्टको इजलासले सफाइ दिने फैसला गरेको भोलिपल्टै बम्जनकी श्रीमती अदालतको आदेश बोकेर कारागार पुगेकी थिईन।
त्यसपछि उनलाई रिहा गरिएको सिन्धुपाल्चोक कारागारका निमित्त प्रशासक निरजराम दमाईंले बताए। उनीसँगै एउटै मुद्दामा ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका थिए।
जिल्ला अदालत सर्लाहीले १७ असार ०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यस विरुद्ध उनी उच्च अदालत पुगेका थिए। सिन्धुपाल्चोकमा रहेको व्यक्ति (भिक्षु फुलमाया रुम्बा) बेपत्ता पारेको कसुरको मुद्दामा पनि उनले सफाई पाईसकेका छन्।
त्यो मुद्दामा उनलाई सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो भने न्यायाधीश भगवती शर्मा ढुंगानाको २५ कात्तिकको इजलासले सफाई दिने फैसला गरेको थियो। सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप बम्जनमाथि छ। तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन।
सीआईबीले बम्जनलाई २४ पुस २०८० मा बुढानिलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो।