छोराले केटी भगाएको आरोपमा बुबा पक्राउ, छोरो फिर्ता नल्याए अपहरणको मुद्दा चलाउने धम्की

जनकपुर— एक जोडी किशोर/किशोरी २०/२१ दिनदेखि सम्पर्कविहीन भएको घट्नामा आफनो असफलता लुकाउन धनुषा प्रहरीले महोत्तरीको एक दलित परिवारलाई तनाव दिईरहेको खुलेको छ।

स्रोतका अनुसार धनुषा प्रहरीले अहिले महोत्तरीको भंगहा नगरपालिकाका जागेश्वर रामलाई हिरासतमा राख्ने तथा नियमित रुपमा परिवारलाई मानसिक यातना दिने गरिरहेको पाईएको छ। जुन घट्नामा जागेश्वरको कुनै संलग्नता देखिएको छैन।

जानकारी अनुसार धनुषाको बटेश्वर गाउँपालिका–२, कचहरी टोलकी १७ वर्षीया एक किशोरी र जागेश्वरका २१ वर्षीय छोरा सन्तोष करिव ३ साता अघिदेखि सम्पर्क विहीन छन्। उनीहरुले सामाजिक सञ्जालमा एउटा भीडीओ पोष्ट गर्दै ‘आफुहरुले विवाह गरेको’ बताएका छन्।

उनीहरु कहाँ र कुन अवस्थामा छन् भन्ने विषय हालसम्म खुलेको छैन। तर, प्रहरीले भने जागेश्वरको परिवारलाई तनाव दिईरहेको छ। जागेश्वरलाई त प्रहरीले मंगलबार नियन्त्रणमा लिएर एक दिन हिरासतमै राखेको पारिवारिक स्रोतले जनाएको छ।

केटी पक्षले ‘१७ वर्ष आठ महिना मात्रै पुगेकी किशीरीलाई ललाइफकाइ भगाएको’ भन्दै सन्तोष विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएपछि प्रहरीले जागेश्वरको परिवारलाई तनाव दिन थालेको उनका भाई रामबाबुले बताए।

उनका अनुसार प्रहरीले सुरुमा जागेश्वरलाई बोलाएर ‘छोरो नबोलाए अपहरण मुद्दामा जेल पठाउने’ धम्की दिएको थियो। मंगलबार भने नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेको उनले वताए।

बुधबार भएको छलफलमा ३ दिनभित्र सन्तोषलाई उपस्थित गराउने सर्तमा आफुलाई रिहा गरिएको तर सर्त पुरा नभए सबैमाथि मुद्दा चलाउने धम्की दिईएको जागेश्वरको भनाई छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई श्यामबाबु यादवले किशोरी हराएको विषयमा बोलाएर सोधपुछ गरिएको बताए। जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलकी इन्स्पेक्टर निकिता मिश्रले डिएसपीसँग कुरा गर्न सुझाव दिईन भने डीएसपी बरुणबहादुर सिंहले उक्त घट्ना आफुलाई जानकारी नभएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट