जितपुर सिमरा महोत्सवमा प्रहरीको हस्तक्षेपः ९ बजेसम्म कार्यक्रम नरोकेपछि डिएसपीले काटिदिईन बाजाको कनेक्सन

जनकपुर– निर्धारित समयभन्दा अबेर रातिसम्म कार्यक्रम सञ्चालन गरेपछि बारामा जारी जितपुर–सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रहरीले हस्तक्षेप गरेर गएराति बाजागाजाको कनेक्सन नै काटिदिएको छ।
बाजाको लाईन काट्न डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेकी थिईन। प्रहरीका अनुसार प्रशासनले महोत्सवका लागि बिहान १० देखि साँझ ६ बजेसम्मको अनुमति दिएको छ। तर, आयोजकले त्यसको उलंघन गरी गएराति ९ बजेसम्म टिकट बेचेका थिए।
त्यसपछि भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबा स्टेजमा चढेकी थिईन। उनले माइक नियन्त्रणमा लिएर लाइनको तार पनि झिकिदिइन्। रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो।
अनुमति पाएको समयभन्दा धेरै पछि (राति) सम्म टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकिएको डीएसपी वाइबाले बताएकी छिन्। ९ बजेपछि पनि टिकट बिक्री नरोकिएकपछि भिडभाड र झगडाको सम्भावना बढ्न नदिन हस्तक्षेप गरिएको वाइबाको भनाइ छ।
आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन्।