४ पटक शिलान्यास, ६ पटक म्याद थपेर ८५ वर्षपछि राजविराजमा बसपार्क सञ्चालन

राजविराज — टाउन प्लानिङ गरेर बसाइएको सप्तरीको राजविराजमा ८५ वर्षपछि सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएको छ।

बहुप्रतिक्षित यो बसपार्क चौथो पटकको शिलान्यास र छ पटक म्याद थपपछि बल्ल सम्पन्न भएको हो। राजविराज नगरपालिका–२, राजदेवी चोकमा निर्माण भएको बसपार्कको बिहीबार उद्घाटन भएसँगै औपचारिक सञ्चालन शुरु गरिएको हो।

राजविराज नगरको निर्माण १९९७ सालमा टाउन प्लानिङसहित गरिएको भए पनि यहाँ बसपार्क नहुँदा सहरका मुख्य सडकमै बसहरू जथाभावी पार्किङ हुँदै आएका थिए। यसले ट्राफिक व्यवस्थापनमा ठुलो चुनौती सृजना गरेको थियो।

बसपार्क सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन सहज हुने र सहरको सुन्दरता पनि बढ्ने विश्वास लिइएको छ। राजविराज नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले यस्तो योजना सफल हुँदा सहरले वास्तविक स्वरूप लिन थालेको बताए।

यो बसपार्क पटक–पटक शिलान्यास भएको थियो। २०४४ सालमा प्रधानमन्त्री मरिचमान सिंहले त्यहाँ ‘वीरेन्द्र हरित उद्यान’ बनाउने भन्दै शिलान्यास गरेका थिए। तर त्यो परियोजना अघि बढ्न सकेन। त्यसपछि २०५२ सालमा नगर प्रमुख शैलेश चौधरीको पहलमा बसपार्क बनाउने योजना अघि बढाइए पनि कार्यान्वयन हुन सकेन।

हाल सञ्चालनमा आएको बसपार्क निर्माणको ठेक्का सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले २०७४ पुस १९ गते सिनर्जी बिल्डर्स प्रालिसँग गरेको थियो। सुरुमा १६ करोड ३८ लाख रुपैयाँमा सम्झौता भए पनि भेरिएसनपछि १५ करोड ६० लाखमा निर्माण कार्य सम्पन्न गरिएको हो। निर्माण कार्य सम्पन्न गर्न ६ पटक म्याद थपिएको थियो।

५ विघा ६ कठ्ठा ४ धुर क्षेत्रफलमा फैलिएको बसपार्कमा तीन वटा ब्लक छन। ती ब्लकमा मुख्य प्रवेशद्वार, टिकट काउन्टर, प्रतीक्षालय, सोधपुछ कक्ष, शौचालय, पसल, रेस्टुरेन्ट, मिनी मार्केट, गार्ड हाउस र सर्भिस सेन्टरजस्ता पूर्वाधारहरू बनाइएको छ।

बसपार्कमा ९० वटा बस, २० वटा ट्याक्सी र करिब सय साना सवारीसाधन पार्किङ गर्न सकिने क्षमता रहेको आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिए।

बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरले दशकौं पुरानो एउटा आधारभूत पूर्वांधारको कमी पुरा गरेको छ। स्थानीय सरकार र सरोकारवाला निकायहरूले यसको नियमित प्रयोग र व्यवस्थापन सुनिश्चित गर्नुपर्ने चुनौती भने बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट