गणतन्त्र दिवस मनाउन एमाले नेता बन्दुक बोकेर कार्यक्रममा पुगेपछि…

जनकपुर– गणतन्त्र दिवसको अवसरमा रौतहटको कटहरिया बजारमा विहिबार साँझ आयोजित दीपप्रज्वलनका बेलामा एमाले नेता कुन्दन कुशवाहाले बन्दुक प्रदर्शन गरेका छन। उनी बन्दुक बोकेरै कार्यक्रममा उपस्थित भएका थिए।

एमालेका केन्द्रीय सदस्य तथा मधेसका पूर्व सांसद समेत रहेका कुशवाहाले उक्त कार्यक्रममा बन्दुक बोकेको भीडीओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। नेता कुशवाहाले बन्दुक माथि तानेर हवाई फायर गर्न खोजेको भिडिओमा देखिन्छ।

तर फायर नभएपछि अर्का एक जनालाई बन्दुक दिएको र ती व्यक्ति बन्दुक लिएर भीडबाट बाहिर निस्केको देखिएको छ। नेता कुशवाहाले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेको/नरहेको खुलेको छैन।

रौतहट प्रहरीका डिएसपी दीपक राईले नेता कुशवाहा बन्दुक बोकेर कार्यक्रममा पुगेको कुरा थाहा नभएको बताए। ‘बन्दुक बोकेर कार्यक्रममा पुगेको हो भने छानबिन हुन्छ।’ उनले भने।

यसअघि, वैशाख दोस्रो साता जसपा नेपालकी नेतृ एवम् पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवकी छोरी डा. बबी सिंह यादवले हवामा पेस्तोल नचाउँदै हवाई फायर गरेको घट्ना चर्चामा आएको थियो। उक्त घट्नामा प्रयोग भएको पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको थियो। उनी सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की हुन।

यति मात्रै होईन, गत ३ फागुन ०८१ मा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले बन्दुक प्रदर्शन गरेका थिए। गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा भेटघाट गर्न पुगेका अब्दुल खानले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर फोटोसुट गरेका थिए। उनीहरु यताउता डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर दायाँबायाँ साथै हिँडाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट