गहना बनाउन नदिएको रिसमा सुनचाँदी पसलेले मुस्लिम वेहुलीका बुबालाई सुँगुरको खोरमा थुनेर कुटे

जनकपुर– सर्लाहीमा विवाहका लागि गहना बनाउने विषयमा विवाद भएपछि सुनचाँदी ब्यवसायीले मुस्लिम समुदायकी एक वेहुलीका बुबालाई सुंगुर खोरमा थुनेर कुटपिट गरेका छन्। यो घट्ना पर्सा गाउँपालिका–५ मा भएको हो।
प्रहरीका अनुसार स्थानीय तश्लिम अंसारीकी छोरीको बिवाहका लागि गहना बनाउने विषयमा शनिवार बिहान करिव १० बजे विवाद भएको थियो। त्यसै बेला स्थानीय सुनचाँदी पसले राजेन्द्र साह सोनारसँग वादविवाद भई हात हालाहाल भएको थियो।
त्यसैको रिसमा सोनारले अन्य ब्यक्तिलाई लगाएर तश्लिम अंसारीलाई सुंगुरको खोरमा थुनेर कुटपिट गराएको खुलेको अन्सारीलाई कुटपिट गरेको भीडीओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
मुस्लिम समुदायको व्यक्तिलाई सुंगुरको खोरमा राखेर कुटपिट गर्नु जिवनकै सवैभन्दा ठूलो पीडादायी घट्ना भएको उनका छोरा कौशर अंसारीले गुनासो गरेका छन्। सामान्य विवादमा पनि सुंगुरको खोरमा थुनेर कुटपिट गर्नु मानविय अपराध भएको उनको भनाई छ।
स्थानीयका अनुसार तश्लिमले छोरीको विवाहका लागि अर्कै सुन व्यवसायीलाई गहना वनाउँन दिएका थिए। त्यही बीचमा राजेन्द्र तश्लिमको घरमा पुगेर र गहनाको विषयमा चियोचर्चो गरे। ‘कस्तो र कति वटा गहना बनाउन दिएको रहेछ हेरेर आउनु भन्दै मलाई तपाईको सम्धिनीले पठाउनु भएको’ भन्दै उनले बताएका थिए।
तर पछि सोधखोज गर्दा सम्धिनीले उनलाई नपठाएको र बदमासी गर्न खोजेको प्रष्ट भयो। यही विषयमा शनिबार बिहान गाउँमा पञ्चायत बस्यो। पञ्चायतमा दुई पक्षबीच विवाद भयो। तश्लिमले राजेन्द्रमाथि हात उठाए।
यो विषयमा फेरी छलफल भयो र विवाद शान्त भयो। दिउँसो फेरी राजेन्द्रले मान्छे पठाएर तश्लिमलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित पञ्चालयतमा बोलाए। तर प्रहरीमा नपुग्दै उनलाई नियन्त्रणमा लिएर गाउँतिर लगेर कुटपिट गरे।
प्रहरीले दुवै पक्षका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्सारी, उनका दाइ महम्मद अन्सारी, राजेन्द्र साह सोनार, सोनारका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पु कुमार यादव छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले हालसम्म कसैले उजुरी नदिएको बताएका छन्।