सिरहामा स्रोत नखुलेको झण्डै १ करोड नगद र लागू औषधसहित ५ जना पक्राउ, पक्राउ पर्नेमा दाजु वहिनी पनि

राजविराज– सिरहामा प्रहरीले स्रोत नखुलेको झण्डै एक करोड नगद र लागु औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाजुबहिनीसमेत छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका २२ लबटोलबाट भारतीय नागरिक ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी किरणकुमारी ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ परेका हुन।
दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा उनीहरूका साथबाट २२ दशमलव ९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यसपछि उनीहरुको घर खानतलासी गरेको प्रहरीले थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद गरेको थियो।
सिरहा प्रहरीका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार उनीहरुको साथबाट डिजिटल तराजु पनि बरामद भएको छ। दिनेश यसअघि पनि ब्राउन सुगर कारोवार गरेको आरोपमा ६ महिना जेल वसेका थिए। ३ साउन २०८० मा ३ दशमलव ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनी ५ माघ २०८० मा छुटेका थिए।
यसैगरी, सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारक स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित सिरहा–२ स्थित महावीर चोकबाट पक्राउ परेका छन्। उनी हुण्डि कारोवारी भएको प्रहरीको आशंका छ।
सिरहाबाटै औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राय ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परहेका छन्। उनीहरुलाई बरियारपट्टी गाउँपालिका–३ बाट पक्राउ गरिएको हो।