कर्णाली डेभलपमेन्ट बैंक घोटालाः २५० करोड हिनामिना अभियोगमा संस्थापक अध्यक्ष राजेन्द्रवीर पक्राउ

काठमाडौँ– बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रुपन्देहीको बेलहियाबाट शनिबार पक्राउ गरेको हो। सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ बमोजिम अनुसन्धान थालिएको जानकारी दिएका छन।

रायले २०७६ देखि २०७९ सम्म कर्णाली डेभलपमेन्ट बैंकमा सीईओका रूपमा काम गरेका थिए। सो अवधिमा उनले पटकपटक सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। यही समयमा उनले बैंकका बचतकर्ताहरूको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।

उक्त अनियमितता उजागर भएपछि बैंक सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा २०७९ पुस ५ मा छानबिन समिति गठन गरिएको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार रायसहित संलग्न व्यक्तिहरूले कम्तीमा १ अर्ब २६ करोड रुपैयाँ हिनामिना गरेका थिए।

समितिले दोषीहरूलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको थियो। यो प्रकरणमा राय एक्ला व्यक्ति मात्र नभई बैंकका अन्य उच्चपदस्थ कर्मचारीहरू पनि अनुसन्धानको दायरामा परेका छन।

पूर्व सीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, हालका सीईओ तथा वित्त प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको घेरामा छन। सल्यान निवासी राय पछिल्लो समय बाँकेमा बस्दै आएका थिए। उनलाई नियन्त्रणमा लिएर सीआईबीले काठमाडौं ल्याइसकेको छ। राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान अगाडि बढाइएको छ।

२०६० सालमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यका साथ सेवा सुरु गरेको भए पनि पछिल्ला वर्षहरूमा बैंक उच्च तहसम्म पुगेको थियो। संस्थापकको रूपमा रहेका रायमाथि व्यापक आर्थिक अनियमितता र पदको दुरुपयोगको गम्भीर आरोप लाग्दा बैंकको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

अब यो प्रकरणले कुन मोड लिन्छ र दोषीहरूलाई कस्तो कारबाही हुन्छ भन्ने प्रतीक्षामा आम नागरिक, विशेषतः बैंकका ग्राहकहरू छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट