ताप्लेजुङमा खुकुरी प्रहार गरी युवकको हत्या, पाहुना दम्पती फरार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिक २८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहार गरि हत्या गरिएको छ। हत्या आरोपित युवक अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बू फरार छन।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तेजेन्द्रलाई मंगलबार राति करिब १ बजे फुङलिङ नगरपालिका–६ उकाली पानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरेका थिए। अर्जुन पत्नी सरिता लिम्बूसँगै फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना आएका थिए।

स्थानीयका अनुसार घटनाको साँझ अर्जुन र सरिताबीच सामान्य विवाद भएको थियो। झगडा बढेपछि योगमायाले रातिको समयमा नै उनीहरूलाई घरबाट फर्कन आग्रह गरेकी थिइन। अर्जुन र सरिता बाटो लागेपछि छिमेकी तेजेन्द्र पनि दम्पतीसँग हिडेका थिए।

लिङखिमस्थित सिस्ने खोलानजिक पुगेपछि अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गरेको र बायाँ कोखामा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गरि अर्जुन गुरुङ हतियारसहित फरार भएका छन। सरिता पनि प्रहरीको सम्पर्कमा आएकी छैनन।

घटनाको खबर पाउनेबित्तिकै वडा अध्यक्ष आईतराम लिम्बूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि सई विमलकुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो। फरार दम्पतीको खोजी भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट